धनुषा । नेकपा माओवादी केन्द्रका नेता रामकुमार शर्माले सर्वोच्च अदालतबाट नागरिकता विधेयकसम्बन्धी आदेश अविलम्ब नआए सत्याग्रहमा बस्ने चेतावनी दिएका छन् ।
बुधबार जनकपुरमा पत्रकार सम्मेलन गरी नेता शर्माले नागरिकता प्रदान गर्ने आदेश अविलम्ब नआए असार १ गतेदेखि सत्याग्रहमा बस्न बाध्य हुने चेतावनी दिए ।
नागरिकतासम्बन्धी आदेश सर्वोच्च अदालतबाट नआउँदा लाखौँ नेपाली युवा बिचल्लीमा परेकाले अविलम्ब नागरिकता प्रदान गर्ने फैसला आउनुपर्ने शर्माले माग गरे ।
नेपालको संविधान, २०७२ जारी भएको करिब आठ वर्ष भइसकेको र संविधान जारी भएको मितिले तीन वर्षभित्र सङ्घीय संसद्बाट कानून बनाएर पूर्णरूपमा कार्यान्वयन गरिने भनिए पनि राज्यद्वारा अनागरिक बनाउने प्रपञ्च सह्य नहुने शर्माले बताए ।
नागरिकता विधेयक सङ्घीय संसद्बाट पारित भएर राजपत्रमा प्रकाशित भइसक्दासमेत अनेक बहानामा कार्यान्वयन गर्न षड्यन्त्र हुँदै आइरहेको शर्माले आरोप लगाए ।
उनले भने “संविधानबमोजिम नागरिकता पाउनयोग्य १० लाखभन्दा बढी नेपाली युवाको पीडालाई आत्मसात् गर्दै जेठ १७ गते नागरिकता विधेयक प्रमाणीकरण भयो र गृह मन्त्रालयले तत्काल राजपत्रमा प्रकाशित ग¥र्यो । षड्यन्त्रपूर्वक नागरिकता विधेयक असफल बनाउनकै लागि षड्यन्त्र सुरु भएको छ ।” उनले राष्ट्रिय एकता कायम राख्नका लागि पनि नागरिकता प्रदान गर्ने आदेश चाँडै आउनु आवश्यक रहेको बताए ।
FACEBOOK COMMENTS