काठमाडौै । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र अन्तर्राष्ट्रिय मुद्रा कोषको नेपाल मिसन टोलीबीच महासंघ सचिवालयमा औपचारिक भेटवार्ता भएको छ ।
भेटमा अध्यक्ष ढकालले विद्यमान आर्थिक मन्दीको अवस्थाबाट अर्थतन्त्रको सुधारका लागि कोषले सहयोग गर्नुपर्ने बताए । बजारमा माग सिर्जना गर्न आगामी मौद्रिक नीतिले ब्याजदर घटाउने, चालु पूँजी कर्जा मार्गदर्शनको परिमार्जन एवं कर्जाको पुर्नसंरचना, पुर्नतालिकीकरण पुर्नकर्जा सुविधा दिनुपर्नेमा महासंघले राष्ट्र बैंकसंग आग्रह गरिरहेको बताउँदै अध्यक्ष ढकालले यसमा अन्तरराष्टिय मुद्रा कोषको पनि सहयोग आवश्यक रहेको बताए ।
बजारमा उद्यमी व्यवसायीहरु र उपभोक्ता दुवैको आत्मविश्वास बढाउनु अहिले सबैभन्दा महत्वपूर्ण बिषय रहेकोमा अध्यक्ष ढकालले जोड दिए ।
कोषको मिसन टोली प्रमुख टिएडन टिन्डाले अहिलेको अवस्थामा निजी क्षेत्रको धारणा बुझ्न आवश्यक भएकोले आफू महासंघ आएको बताए ।
उनले बजारमा माग घटनुको कारण र पछिल्लो बजेटको प्रभावबारे जिज्ञासा राखे ।
महासंघ अध्यक्ष ढकालले श्रीलंकाको अर्थतन्त्रजस्तो हुने आशंकामा बजारमा माग संकुचन गर्न ल्याइएका कार्यक्रमले बजारमा समस्या भएको बताए ।
महासंघका बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले अधिकांश उद्योग न्युन क्षमतामा संचालित रहेकाले बजार चालायमान बनाउन आवश्यक रहेको बताए ।
महासंघ लगानी तथा अन्तरराष्ट्रिय मामिला फोरमका सभापति मनोज पौडेलले लगानी बिस्तारका बारेमा नीतिगत सुधार आवश्यक रहेको बताए ।
मिसन टोली प्रमुख टिन्डाले महासंघका अध्यक्षले राख्नुभएका विषयलाई आफूले महत्वका साथ लिएको बताए ।
FACEBOOK COMMENTS