पोखरा । जुत्ता चप्पल सस्तो मूल्यमा बिक्री गर्ने लक्ष्यसहित १० जना उद्योगीले पोखरामा ‘पोखरा फुटवेयर बिजनेस सेन्टर’ स्थापना गरे । साउन ५ गते शुक्रबार सुरु भएको उक्त बिजनेस सेन्टरलाई ४ दिनपछि मंगलबार पोखरा महानगरपालिकाले बन्द गरयो ।
गण्डकी प्रदेशको कृषिमन्त्री महेन्द्रध्वज जिसीले पसलको उद्घाटन गर्दा प्रदेश सांसद पनि पुगेका थिए।
उद्योगी व्यवसायीका नेताले पनि भाषण दिए। आर्थिक मन्दीका बेलामा पनि युवाहरूले लगानी गरेर रोजगारीको सिर्जना गरेको भन्दै प्रशंसा गरे। सस्तोमा जुत्ता पाएको भन्दै उपभोक्ता पनि झुम्मिन थालेका थिए।
पोखरामा लगानी गरेर विधिवत् उद्घाटन गरेपछि महानगरले मंगलबार एकाएक ‘पोखरा फुटवेयर विजनेस सेन्टर’ मा ताला लगाइदियो।
ताला लगाउन पुगेका नगर प्रहरीले मेयर धनराज आचार्यको मौखिक आदेशमा ताला लगाउन आएको जानकारी दियो ।
पोखरा फुटवेयर विजनेस सेन्टर दर्ता नभएकाले ताला लगाएको महानगरले जनाएको छ । तर उनीहरूले झण्डै १ महिनाअघि देखि दर्ताका लागि दिएको निवेदन महानगर वडा कार्यालयले तामेलीमा राखेको छ भने एकै प्रक्रियाबाट दर्ता गर्न दिएको एउटा पसल दर्ता गर्नु र अरू बाँकी दर्ता गर्न आनाकानी गर्नु गलत भएको व्यवसायी कार्कीले बताए ।
‘हामीलाई पसल बन्द गराउन कुनै सूचना दिइएन, मेयरको मौखिक आदेश भन्दै नगर प्रहरी आएर ताला लगाइदिए,’ उनले भने, ‘पसल दर्ता गर्न र कर तिर्न बारम्बार धाउँदा अल्झाएर फर्काउने अनि बिना सूचना ताला लगाउन आउनु पोखरामा मेयरले नै लगानी गर्न दिँदैनन् भन्ने सन्देश प्रवाह भएको छ ।’
१० जना उद्योगीले ‘नेपाली जुत्ता घर’ नामक कम्पनी खोलेर लगानी जुटाए । एउटै कम्पनीबाट दश जनाले छुट्टा–छुट्टै पसल राख्ने र एउटै कारोबार चलाउने उनीहरूको योजना थियो ।
उनीहरूले योजना मुताविक पोखरा महानगरमा दर्ता अनुमति लिन जाँदा पहिलो गाँसमै ढुंगा लाग्यो । महानगरले दश जनाले एउटै कम्पनीबाट जुत्ता बेच्न नदिने भन्दै १० जनाको छुट्टाछुट्टै कम्पनी बनाएर निर्देशन दिए । महानगरले दिएको निर्देशन अनुसार उनीहरूले छुट्टाछुट्टै कम्पनी दर्ता गर्न वडा कार्यालय र महानगरमा निवेदन दिए ।
उनीहरूले दिएको निवेदनमध्ये विकास खत्रीको नाममा ‘नेपाली जुत्ता घर’ विधिवत दर्ता भयो। सोही विधि र प्रक्रियाबाट दर्ता गर्न निवेदन दिँदा अन्य नौवटा कम्पनीको भने दर्ता रोकियो ।
कम्पनी दर्ता गर्न निवेदन दिएका युवा सविन कार्कीका अनुसार सुरूमा महानगरले आर्थिक वर्षको अन्त्य भएकाले साउन १ गते आउन निर्देशन दिए ।
उनीहरू साउन १ मा महानगर गए । महानगरको राजस्व संकलनको सफ्टवेयर मर्मत सम्भारमा रहेको भन्दै ७ गते आउन फेरि महानगरले उनीहरूलाई फर्कायो । कार्कीका अनुसार ७ गते पनि महानगरले बाँकी कम्पनी दर्ता गरेन ।
दश जना युवाले एक करोडभन्दा बढी रकम लगानी गरेर जुत्ता पसल संचालनमा ल्याइसकेका थिए । उनीहरूले जुत्ता पसल स्थापना गरेर ४० जनालाई रोजगारी दिए ।
पोखरा फुटवेयर विजनेस सेन्टरमा शिखर, सु–ल्यान्ड, पिजी सुज, वन वर्ल्ड, फुटस्टेप, बोस सुज, रन सुज, ब्याम्बो सुज, स्मार्ट सुज, हिमानी कलेक्सन कम्पनीका जुत्ता र चप्पल बिक्रीमा राखेका छन्।
अन्य पसल संचालकहरूको स्वार्थमा मेयर आचार्यले आफूहरूको पसल बन्द गर्न निर्देशन दिएको व्यवसायीहरूको आशंका छ । पोखरामा रहेको जुत्ता व्यवसायी संघले महानगरसहित पोखरा उद्योग वाणिज्य संघमा निवेदन दिएर उक्त पसल बन्द गराउन ताकेतासमेत गरेका थिए ।
मेयर धनराज आचार्यले प्रक्रिया पूरा गरेर आउनका लागि बन्द गरेको बताए । ‘ बन्द गरेर प्रक्रिया पूरा गरेर आउनुस् भनेका हौं’, उनले भने,‘प्रक्रिया पूरा गरेर दर्ता भएपछि सञ्चालन गर्न पाउनु हुन्छ।’
व्यवसायी सविन कार्कीले पोखरा महानगरले नियोजित रूपमै विधिवत रूपमा दर्ता गर्न दिएको निवेदन दर्ता नगर्ने र दुःख दिन खोजेको बताएका छन्।
‘हामीले सबै नियम पालना गरेर व्यवसाय गर्न चाहेका छौं, महानगरले गैरकानुनी रूपमा सूचनासमेत नदिइकन नगर प्रहरी लगाएर बन्द गरायो,’ उनले भने, ‘केही सीमित व्यक्तिको स्वार्थमा महानगरले व्यक्ति हेरेर काखापाखा गर्यो।’
FACEBOOK COMMENTS