काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले गौरा पर्वको उपलक्ष्यमा देश तथा विदेशमा रहेका भएका सम्पूर्ण नेपालीमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।
गौरा पर्व नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशसहित मुलुकको विभिन्न भूभागमा परापूर्वकालदेखि धुमधामका साथ मनाइँदै आएको धार्मिक, सांस्कृतिक एवं परम्परागत पर्व हो । नेपालको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन व्यवस्था प्रणालीले बहुजाति, बहुभाषा, बहुसंस्कृति, बहु–वेषभूषा आदिलाई संरक्षण गर्दै सबै क्षेत्र, वर्ग, भूगोल, धर्म, समुदाय र संस्कृतिलाई आपसमा जोड्ने काम गरेको उनले उल्लेख गरे ।
“विविधतामा एकता हाम्रो मौलिक राष्ट्रिय पहिचान हो । त्यही पहिचानभित्र गौरा पर्व पनि पर्दछ । यो पर्वको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्वलाई सबैले आत्मसात् गर्दै यसका सकारात्मक सन्देश ग्रहण गर्न सक्नु पर्दछ”, उपराष्ट्रपति यादवको शुभकामना सन्देशमा उल्लेख छ ।
हाम्रो सामाजिक, सांस्कृतिक र भौगोलिक विविधताभित्रको बलियो, सुदृढ र प्रगाढ एकताले नेपालको राष्ट्रिय भावनालाई थप मजबुत बनाउन यो पर्वले योगदान पुग्ने उनले विश्वास व्यक्त गरे । आपसी रिस, राग, वैमनस्यता, उच्छृङ्खलता, द्वन्द्व, द्वेषलाई बिर्सेर परस्पर खुसी, सद्भावका साथ शुभकामना आदानप्रदान गर्न गौरा पर्वले सबैलाई उत्प्रेरित गर्न सकोस् भनी उनले कामना गरे ।
हामीबीच परस्पर सद्भाव, सहिष्णुता, मेलमिलाप र भाइचारा अभिवृद्धिमा टेवा पुर्याउने यो पर्वसहित सबै मौलिक संस्कृति, चाडपर्व र रहनसहनलाई संवर्द्धन एवं संरक्षण गर्ने दायित्व सबैले निर्वाह गर्न सक्नु पर्दछ । उपराष्ट्रपति यादवले विभिन्न वर्ग, समुदाय, क्षेत्र र भूगोलमा प्रचलनमा रहेका चाडपर्व, संस्कृति, रीतिरिवाज, परम्परा र संस्कारले आपसी सहिष्णुतालाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरे ।
साथै उनले नेपाली राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकतालाई अझ बलियो बनाउन यस पर्वले सहयोग पुग्ने विश्वास व्यक्त गर्दै मुलुक निर्माण र व्यवस्थित विकासको मार्गमा द्रुत गतिले लम्कन सफल होस्, समृद्ध नेपालको परिकल्पना साकार होस् भन्ने शुभकामना पनि व्यक्त गरे ।
FACEBOOK COMMENTS