काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत तथा सुशासन समितिका अध्यक्षद्वय डा आरजु राणा देउवा तथा प्रकाश पन्थले नेतृत्व गरेको ११ सदस्यीय संयुक्त संसदीय प्रतिनिधिमण्डलले बङ्गलादेशका सभामुख सिरिन सर्मिन चौधरीसँग शिष्टाचार भेट गरेको छ ।
त्यस अवसरमा दुवै पक्षले नेपाल र बङ्गलादेशबीचको आपसी सम्बन्ध विस्तारमा दुवै देशका संसदीय समितिले निर्वाह गरेका भूमिकाको सराहना गरेका थिए ।
ढाकास्थित नेपाली दूतावासका अनुसार मङ्गलबार भएको उक्त भेटमा दुवै पक्षले पारस्परिक सम्बन्धलाई अझ सुदृढ बनाउनेबारेमा विचार आदानप्रदान गरेका थिए ।
नेपाली संसदीय प्रतिनिधिमण्डलले कृषिमन्त्री डा मुहम्मद अब्दुर रज्जाकसँग पनि छलफल गरेको छ । भेटका अवसरमा दुवै पक्षले कृषि क्षेत्रमा सहकार्य तथा प्रविधि हस्तान्तणका साथै खाद्य सुरक्षा सुनिश्चित गर्नेतर्फ द्विपक्षीय सहयोग बढाउनुपर्नेमा जोड दिएको छ । नेपाली प्रतिनिधिमण्डलले परराष्ट्र राज्यमन्त्री मोहम्मद शाहरिर आलमसँग पनि भेट गरेको छ ।
त्यस अवसरमा दुवै पक्षबीच जलवायु परिवर्तन, दिगो विकास, खाद्य सुरक्षालगायत साझा चासोका विषयमा छलफल भएको थियो ।
FACEBOOK COMMENTS