काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले अर्काे वर्ष राम्रो डिजिटमा शेयरधनीलाई लाभांश दिने प्रतिबद्धता जनाएको छ ।
आज शनिबार इन्द्रेणी कम्प्लेक्स नयाँ बानेश्वरमामा सम्पन्न २२औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष सञ्जिव न्यौपानेले अर्काे वर्ष राम्रो डिजिटमा शेयरधनीलाई लाभांश दिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
अध्यक्ष न्यौपानेको अध्यक्षतामा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ । त्यसैगरी, सभाले लेखा परीक्षण प्रतिवेदनसहितको ३१ असार २०८० को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायत वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गर्नाका साथै आर्थिक वर्ष २०८०/८१ कोे लागि लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक समेत तोकेको छ ।
कम्पनीको मातहतमा अहिले चार वटा आयोजनाहरु सञ्चालनमा रहेका छन् । कम्पनीको पहिलो जलविद्युत् आयोजना धादिङ्गको थाक्रे गाउँपालिकामा ५०० किलोवाट क्षमताको रैराङ खोला जलविद्युत् आयोजना २०६१ सालदेखि सञ्चालनमा छ भने दोस्रो आयोजना रीडी खोलामा २ हजार ४०० किलोवाट क्षमताको रीडीखोला जलविद्युत् आयोजनाको निर्माण २०६६ सालमा सम्पन्न गरी राष्ट्रिय ग्रिड प्रणालीमा विद्युत् आपूर्ति गरिरहेको छ ।
त्यसैगरी कम्पनीको तेस्रो आयोजना पाँचथर र ताप्लेजुङको सीमाना भएर बहने इवा खोलामा ९ हजार ९०० किलोवाट क्षमताको इवाखोला जलविद्युत आयोजनाको निर्माण पूरा भई २०७६ साल आश्विन २० गतेबाट व्यावसायिक उत्पादन गरी राष्ट्रिय ग्रीड प्रणालीमा विद्युत् आपूर्ति गरिरहेको छ ।
त्यसैगरी कम्पनीको चौथो आयोजनाको रुपमा लुम्बिनी प्रदेश, रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकामा ८ हजार ५०० किलोवाटको बुटवल ग्रिड जडित सौर्य विद्युत् आयोजनाको निर्माण गरी २०७७ साल कात्तिक १५ गतेदेखि निरन्तर रुपमा व्यावसायिक उत्पादन गर्दै आइरहेको छ ।
यसरी सम्पूर्ण आयोजना गरी कम्पनीको मातहतमा कला कुल २१.३१ मेगावाटका विद्युत् आयोजनाहरु सञ्चालनमा रहेका छन् । रिडी पावर कम्पनीको लगानी रहेको साझा पावर डेभलपमेन्ट प्राइभेट लिमिटेडले अहिले २० मेगावाट क्षमताको तल्लो बलेफी खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
सो आयोजनामा कुमारी बैंकको मुख्य लगानी रहेको छ भने लगानीकर्तालाई संस्थापक शेयरमा लगानी गर्ने अवसर समेत दिइरहेको कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS