काठमाडौं । त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले घरबाटै ट्रान्सक्रिप्ट लिन पाउने भएका छन् । त्रिवि, परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले सेवाग्राहीलाई बल्खुस्थित कार्यालयमा आउनु नपर्ने गरी ट्रान्सक्रिप्ट तथा अन्य सेवा अनलाइनमार्फत दिने तयारी गरेको हो ।
पनिका प्रमुख पुष्पराज जोशीले यसका लागि आवश्यक पर्ने प्रणाली तयार पारिसकिएको बताउँदै मंगलबार सुचना जारी गर्ने जानकारी दिए ।
जोशीका अनुसार यस प्रणालीबाट ट्रान्सक्रिप्ट लिन, सक्कली प्रमाणपत्र लिन, नाम सच्याउन जस्ता काम गर्न सकिन्छ ।
उनले कर्पोरेट खबरसँग भने, ‘ हामी अनलाइन प्रणालीमा लैजान काम गर्दै छौँ । पहिलो ती काम गर्न विद्यार्थीहरू बल्खु आएर बैंकमा पैसा जम्मा गर्ने, फारम भर्ने जस्ता सबै काम गर्नुपर्ने बाध्यता छ । यो प्रणाली सुरु भएपछि ती सबै झन्झट हट्नेछन् । र लाइन बस्नु पर्ने अवस्था आउने छैन । ’
प्रणालीलाई राम्रोसँग सञ्चालन गर्न आवश्यक पर्ने जनशक्तिको व्यवस्थापन भएसँगै यो काम व्यवस्थित तरिकाले चल्ने जोशीको भनाइ छ ।
यो प्रणाली माघको पहिलो सातादेखि सुरु हुने उनले सुनाए । साथै, पहिलो चरणमा क्यामपस र क्षेत्रिय विभागमा ट्रान्सक्रिप्ट पठाउने र दोस्रो चरणमा हुलाक सेवा विभागसँग समन्वय गरेर विद्यार्थीको ठेगानामा नै प्रमाणपत्र पुर्याइदिने योजना रहेको उनले बताए ।
FACEBOOK COMMENTS