काठमाडौँ । संसदीय समितिले नेपाल वायुसेवा निगम तथा विमानस्थलहरुको सुधारको लागि हालसम्म भएको अध्ययन प्रतिवेदनहरु यथाशीघ्र समितिमा पेस गर्न सरकारलाई निर्देशन दिएको छ ।
संघीय संसद्, प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले सो निगम तथा विमानस्थलहरुको सुधारका लागि हालसम्म भएको अध्ययन, अनुसन्धानसम्बन्धी सम्पूर्ण प्रतिवेदन पेस गर्न संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो ।
बैठकमा समितिले सो सम्बन्धमा संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री सुदन किराँती र निगमका पदाधिकारीसँग छलफल गरेको थियो । समितिको बैठकमा भएको छलफलको आधारमा निगम र विमानस्थलहरुको सुधारसम्बन्धी हालसम्मको अध्ययन प्रतिवेदन छिटोभन्दा छिटो समितिमा पेस गर्न सरकारलाई निर्देश गरिएको समितिका सभापति राजकिशोर यादवले बताए ।
त्यसैगरी समितिले प्रधानमन्त्री कार्यालयको विधेयक शाखामा अड्केर बसेको नागरिक उडड्यनसम्बन्धि विधेयकबारे गम्भीर चासो व्यक्त गर्दै त्यसको अवस्थाबारे पनि समितिलाई जानकारी गराउन सरकारलाई सचेत गराएको छ ।
सभापति यादवले भने, ‘नेपाल वायुसेवा निगम तथा विमानस्थलहरुको सुधार तथा समग्र विषयमा के–कस्ता अध्ययन, अनुसन्धानहरु भएका छन्, तिनको प्रतिवेदनहरु समिति समक्ष यथाशीघ्र पेस गर्न मन्त्रालय र नेपाल नेपाल वायुसेवा निगमलाई निर्देशन दिने । योभन्दा अगाडिको बैठकमा माननीय मन्त्रीज्युले नै नागरिक उडड्यनसम्बन्धि विधेयक क्याबिनेटमा पठाइसकिएको जानकारी गराएको स्थिति छ । हाम्रो सचिवालयले प्रधानमन्त्री कार्यालयको विधेयक हेर्ने शाखामा त्यो विधेयकबारे चासो राख्दा स्पष्ट जवाफ आएको छैन । त्यसैले मन्त्रालयले त्यो विधेयकको स्थितिको बारेमा के हो ? मन्त्रालय कुन दिनमा निर्णय गरेर त्यहाँ पठाएको हो, त्यो डेट सहित यो समितिमा उपलब्ध हुनुपर्यो ।’
बैठकमा समितिका सदस्यहरुले नेपाल वायुसेवा निगमको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गर्दै यसको सुधारका लागि ठोस कदम नचालेको भन्दै सरकारको आलोचना गरेका थिए ।
FACEBOOK COMMENTS