काठमाण्डौ । निर्यात व्यवसायी महासंघ नेपाल (फिन) ले आफनो स्थापना दिवस तथा चौथो बार्षिकोत्सव समारोह भव्यतापूर्वक सम्पन्न गरेको छ ।
कार्यक्रममा अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक वृद्धि, रोजगारी सृजना, राजश्व बृद्धि, र दिगो विकासलाई प्रवर्द्धन गर्न निर्यातकर्ताहरूले खेल्दै आएको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै निर्यात व्यापारलाई देशको अर्थतन्त्रको मेरुदण्डका रुपमा विकास गर्न आवश्यक रहेको औंल्याए ।
अर्थमन्त्री डा. प्रकाश शरण महत महासंघको भूमिकाको प्रशंसा गर्दै भने ”तमाम निर्यात व्यवसायी साथीहरुको समर्पण र कडा परिश्रमले विश्व बजारमा नेपाली उत्पादनको बजार माग उकास्न र हाम्रो निर्यात क्षमता विस्तार गर्न महत्वपूर्ण योगदान रहदै आएको छ’ ।
मन्त्री महतले निर्यात व्यवसायी महासंघ नेपालका अध्यक्षले उठान गरेका सवालहरु सबै जायज मागहरु रहेको उल्लेख गर्दै सरकारले चाहदा चाहदै पनि देशमा आर्थिक स्रोतको कमीका कारण तत्काल संबोधन गर्न नसिएको र निकट भबिष्यमा निर्यातकलाई सहुलियत उपलब्ध गराईने प्रतिबद्धता व्यक्त गरे । त्यसैगरि उनले भारतसँगको व्यापार सम्झौताबाट फाईदा लिन छाडेर साफटाको बिषय उठाउन आवश्यक नरहेको प्रष्ट पारे ।
उनले निर्यात क्षेत्रको भविष्य निकै राम्रो रहेको बताउदै निर्यातमुखी अर्थतन्त्रका लागि सरकारले वातावरण तयार पार्न सक्दो प्रयास जारी राख्ने समेत उल्लेख गर्नुभयो । डा. महतले नेपाली उत्पादनहरु उच्च प्रविधियुक्त भन्दा पनि मौलिक हुनुपर्नेमा जोड दिए ।
सो अवसरमा निर्यात व्यवसायी महासंघ नेपालका अध्यक्ष शंकर प्रसाद पाण्डेयले पहिला के के भयो भएन भन्नेमा भन्दा अब कसरी अगाडी बढ्ने भन्ने चर्चा गर्नु बढी सान्दर्भिक र व्यावहारिक हुने उल्लेख गर्दै निर्यात वृद्धिका लागि लक्ष्य तोकी काम गर्न सक्ने विभाग तथा शाखा नहुँदा यो क्षेत्र सधै उपेक्षित रहेको औंल्याए ।
फिनका अध्यक्ष शंकर प्रसाद पाण्डेको अध्यक्षता तथा अर्थ मन्त्री डा. प्रकाश शरण महतको प्रमुख आतिथ्यतामा सम्पन्न बार्षिकोत्सव कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव बैकुण्ठ अर्याल, सांसद् गणेश पराजुली, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल बिशिष्ठ अतिथि रहेको थिए ।
कार्यक्रममा वाणिज्य सचिव नारायण प्रसाद शर्मा दवाडी, राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवाली, नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, उपाध्यक्ष हेमराज ढकाल, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु, फीनका सल्लाहकार पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा, पूर्व सचिव चन्द्र कुमार घिमिरे, युरोपियन युनियनका नेपाल प्रतिनिधि एवं राजदुतहरु अतिथिका रुपमा कार्यक्रममा सहभागी थिए ।
FACEBOOK COMMENTS