काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वध्यक्ष भवानी राणाले राजनीति हाबी हुँदासम्म नेपालमा आर्थिक समृद्धि आउन नसक्ने बताएकी छिन् ।
हिजो आइतबार साँझ होटेल ह्यात प्लेसमा कर्पोरेट मिडिया ग्रुपले आयोजना गरेको १६औँ संस्करणको ‘कर्पोरेट बिजनेस अवार्ड, २०८०’ लाई सम्बोधन गर्दै उनले आर्थिक क्षेत्रमा अहिले पनि राजनीति हाबी भएको र त्यसले मुलुकलाई समृद्धितिर लैजान नसक्ने बताएकी हुन् ।
‘हहिले पनि हामीकहाँ पोलिटिक्स नै हाबी छ । विभिन्न चरण पार गर्दै प्रजातन्त्र र लोकतन्त्रमा आइसक्दा पनि हाम्रो राजनीतिक आचरण फेरिएको छैन,’ पूर्वध्यक्ष राणाले भनिन, ‘लोकतन्त्र हुँदै गणतन्त्रसम्म पुग्दा त केही होला भन्ने आशा थियो । सबैको एजेण्डा आर्थिक समृद्धि नै थियो । तर, अहिले पनि हामी त्यही पोलिटिक्सभित्र रुमलिइरहेका छौँ । आजको घटना (अर्थमन्त्रीको अनुपस्थिति)ले त्यो देखाएको छ । यसले हामीलाई समृद्धितर्फ अघि बढ्न पक्कै बाधा पुर्याउँछ ।’
कर्पोरेट मिडियाले आयोजना गरेको अवार्ड कार्यक्रम समग्र निजी क्षेत्रका व्यक्तिहरूका लागि हौसला दिने प्लेटफर्म र उपयुक्त वातावरण भएको उल्लेख गर्दै उनले यस्तो कार्यक्रममा अर्थमन्त्रीको अनुपस्थितिले दु:खीत तुल्याएको बताइन् । ‘यो कार्यक्रममा अर्थमन्त्रीज्यू आउनुहुने कुरा थियो । तर, उहाँ आउनुभएन,’ अवार्ड छनोट समितिकी संयोजक समेत रहेकी राणाले भनिन्, ‘अहिले पनि यो अवार्ड सेरेमोनी भनेको प्राइभेट सेक्टरका व्यक्तिहरूलाई हौसला दिनका लागि इम्पोर्टेन्ट कार्यक्रम हो । राज्यको तहबाट हुनुपर्ने काम कर्पोरेट खबरले यति राम्रो वातावरण बनाउँदा पनि यस्तो ठाउँमा हाम्रो अर्थमन्त्री आउन सक्नुभएन ।’
अर्थमन्त्रीको अनुपस्थितिले समग्र उद्योगी व्यवसायीमाथि उपेक्षा भएको आभाष भइरहेको उनको भनाइ थियो । राज्यले गर्दै आएको उपेक्षाप्रति लक्षित गर्दै उनले व्यावसायिक घटक संस्थाहरू एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिइन् । ‘साथीहरू, हामीहरूको एउटा सोलिडारिटी त छँदैछ अझ पनि हाम्रा तीन वटै व्यावसायिक संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), नेपाल उद्योग परिसंघ (सीएनआई) र नेपाल चेम्बर अफ कमर्श आपसमा मिलेर अघि बढ्नुपर्ने अवस्था आएको छ,’ उनले भनिन् ।
आर्थिक समृद्धिका लागि निजी क्षेत्रलाई राज्यले उपयुक्त भूमिका दिने हो भने आफूहरूले ६ महिनामा कायापलट गरिने धारणा पनि उनले व्यक्ति गरिन् । राणाले भनिन्, ‘यदि राज्यले निजी क्षेत्रलाई तिमी गर भनेर जिम्मेवारी दिने हो भने मलाई लाग्छ ६ महिनाभित्र कायापलट गर्नेछौँ । त्यसैले हामी गरिरहेका छौँ । अझै जोडका साथै लागौँ भन्न चाहान्छु ।’
राज्यले केही गरेन
सम्बोधनका क्रममा उनले भनिन्, ‘अर्थमन्त्री हुनुभएको भए उहाँलाई सुनाउन पनि हुन्थ्यो । यहाँ हामी सबै प्राइभेट सेक्टरका साथीहरू छौँ । जसलाई सबै कुरा थाहा छ । (राज्यका तर्फबाट) केही कुरा पनि अगाडि बढ्न सकेको छैन । युवाहरू दिनहुँ पलायन भइरहेको हामी सबैलाई थाहा छ । यही वर्ष १५ लाख युवा विदेसिएका छन् । यसलाई प्राइभेट सेक्टरले चुनौतीका रुपमा हेरिरहेको छ । यसरी पलायन हुँदै गए थोरै जनसंख्या भएको देशको हालत चार/पाँच वर्षपछि के होला ? बृद्धवृद्धा र बालबालिका मात्रै रहने स्थिति आउँछ । त्यसकारण सरकारले विशेष ध्यान दिन जरुरी छ ।’
अवार्डले हौसला थप्यो
यस्तै, उनले कर्पोरेट मिडियाका अध्यक्ष उज्वल जंग शाहलाई शालिन र धैर्यवान व्यक्तिका रुपमा चित्रण गरिन् । नआत्तिने र अप्ठ्यारोमा सही निर्णय लिनसक्ने क्षमता शाहसँग भएको र सो क्षमताको प्रसंशा गर्दै उनले अर्थमन्त्रीको अनुपस्थितिमा पनि नआत्तिकन कार्यक्रम गरेकोमा धन्यवाद दिइन् । ‘यो कार्यक्रममा अर्थमन्त्रीज्यू आउने कुरा थियो, तर उहाँ आउनुभएन । कर्पोरेट म्यागजिनका अध्यक्ष उज्वलजी नआत्तिने खालको बानी भएकै कारण आज यो कार्यक्रम सफल हुन सक्यो । यस्तो बानी मलाई सँधैं पोजिटिभ लाग्छ । कार्यक्रम सम्पन्न गर्न उहाँले आफ्नो टीमलाई जुन निर्देशन दिनुभयो त्यसका लागि पनि म धन्यवाद दिन चाहान्छु । किनभने अर्थमन्त्रीज्यू पर्खिएको भए हामी यतिबेलासम्म कुरेको कुर्यै हुने थियौँ ।’
कर्पोरेट अनलाइन र म्यागजिन मात्रै नभएर वर्षैपिच्छे अवार्ड गरेर हौसला दिँदै आएको मिडिया भएको उनले बताइन् । ‘अहिलेको अवस्था निजी क्षेत्रका लागि मनोबल गिरेको, अर्थतन्त्र ओरालो लागेको र भोलि के हुन्छ भनेर त्रसित भएको अवस्था हो । यस्तो बेला उद्योगी व्यवसायीलाई प्राप्त अवार्डले हौसला थप्ने विश्वास मलाइ छ,’ उनले भनिन् । व्यवसायीको काम एप्रिसियट गरेकामा खुसी व्यक्त गर्दै उनले आफूलाई समेत यसअघि अवार्ड दिएर हौसला प्रदान गरेको स्मरण गरिन् ।
‘म नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष हुँदा कर्पोरेट मिडियाले नै ‘अपकमिङ लिडर’ भनेर अवार्ड दिएको थियो । त्यसले मलाई हौसलाला र प्रेरणा दियो । त्यसैकारण उक्त संस्थाको अध्यक्ष भएर नेतृत्व गर्ने अवसर पाएँ । त्यो ऊर्जाका लागि फेरि पनि धन्यवाद दिन चाहान्छु,’ उनले सुनाइन् ।
‘कर्पोरेट बिजनेश अवार्ड, २०८०’ सम्पन्न, विभिन्न उद्योगी–व्यवसायीलाई गरियो सम्मान (भिडिओसहित)
लक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठलाई ‘कर्पोरेट लाइफटाइम अचिभमेन्ट अवार्ड’, को हुन् उनी ?
निजी क्षेत्रको मनोबल गिरेको बेला कर्पोरेट बिजनेश अवार्डले उत्साहित बनाएको छ : प्रदीप श्रेष्ठ
मेरिना इम्पेक्सले पायो ‘बेष्ट टेलरिङ अवार्ड, २०८०’, को हुन् मोहनमान जोशी ?
FACEBOOK COMMENTS