काठमाडौं । नेपाली महिला चीनमा बिक्री गरेको एक वर्षपछि सम्बन्धित अभियुक्त पक्राउ परेकी छिन् ।
विवाहको बाहाना बनाई चीन पुर्याई मानव बेचबिखन गरेको अभियोगमा नुवाकोटको किस्पाङ्ग गाउँपालिका–१ की ४३ वर्षीया मनमाया घलेलाई प्रहरीले पक्राउ गरेको छ ।
पीडितको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–२७ ठमेलबाट पक्राउ गरेको हो ।
मनमायाले पीडितलाई चिनियाँ नागरिकसँग विवाह गरेमा पाँच वर्षपछि ग्रिनकार्ड बनाउन सकिने भन्दै ललाईफकाई प्रलोभनमा पारेर चिनियाँ नागरिकसँगको मिलेमतोमा जिल्ला अदालत काठमाडौंमा लगी २०७९ चैत १३ गते चिनियाँ नागरिकसँग कोर्ट म्यारिज गराएको प्रहरीले जनाएको छ ।
कोर्ट म्यारिजपछि २०८० वैशाख १ गते चीनमा पुर्याएर यौन शोषण एवम् वेश्यावृत्तिमा लगाएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार मनमायाले पीडितलाई नेपाली पाँच लाख रूपैयाँमा बेचबिखन गरेको समेत खुल्न आएको छ ।
पीडितलाई वेश्यावृत्तिमा लगाई राखेको अवस्थामा चीनस्थित नेपाली दूतावाससगँको समन्वयमा २०८० असार १ गते ती पीडित महिला नेपाल फर्कन सफल भइसकेकी छिन् ।
पक्राउ परेकी घलेउपर मानवबेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नाका साथै घटनामा संलग्न अन्य प्रतिवादीहरूको समेत प्रहरीले खोजि गरिरहेको प्रहरीले जानकारी दिएको छ ।
FACEBOOK COMMENTS