काठमाडौं,चैत १३- कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन कलकारखाना तथा उद्योगहरु बन्द भएसँगै नेपालको विद्युत्को मागमा उच्च गिरावट आएको छ ।
नेपाल विद्युत प्राधिकरणका अनुसार बिहान,बेलुकाको समयमा विद्युतको माग सामान्य अवस्थामा १२ सय मेगावाटसम्म रहेकामा हाल सो घटेर पिक आवरमा समेत ९ सय ४५ मेगावाटमा सीमित भएको छ। मङ्गलबार बिहानदेखि देशभर लकडाउन घोषणा भएसँगै विद्युतको मागमा पनि उच्च गिरावट आएको छ ।
विद्युत खपतमा कमि आएपछि लकडाउनका बेला खाना पकाउने एलपी ग्यासको सम्भावित अभावलाई मध्यनजर गर्दै विद्युतीय चुल्हो (इन्डक्सन)बाट खाना पकाउँदा विद्युत महसुलमा छुट दिने भएको छ।
ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयले इन्डक्सनबाट खाना पकाउने ग्राहकलाई १ सय ५० युनिटसम्म विद्युत महसुलमा २० प्रतिशत छुट दिने व्यवस्था मिलाउन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ।
ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई टेलिफोन गरी इन्डक्सन चुल्हो प्रयोग गर्दा लाग्ने शुल्कमा छुट दिन निर्देशन दिएका हुन्।
माग घटेपछि नेपालले भारतबाट नियमित रूपमा आयात गर्दै आएको दुई सय मेगावाट विद्युत पनि कटौती गरेको छ । अत्यावश्यक सेवाबाहेक अन्य कार्यालय र सेवा बन्द भएकाले अहिले घरायसी प्रयोजनका लागि मात्रै विद्युत् प्रयोग भइरहेकाले माग एकाएक घटेको प्राधिकरणले जनाएको छ ।
FACEBOOK COMMENTS