काठमाडौं । अधिकांश वाणिज्य बैंकलाई कर्जा असुलीमा दबाब परेको छ ।
२० वाणिज्य बैंकमध्ये १३ बैंकलाई कर्जा असुलीमा दबाब सिर्जना भएको हो ।
बैंकहरूले सार्वजनिक गरेका आव २०८०–८१ को वित्तीय विवरणअनुसार कर्जा असुली गर्न नसक्ने बैंकमा एनआईसी एसिया, लक्ष्मी सनराइज, माछापुच्छ«े र ग्लोबल आईएमई बैंक रहेका छन् ।
एनआईसी एसिया बैंकको निष्क्रिय कर्जा सबैभन्दा बढी छ । यो बैंकको निष्क्रिय कर्जाको आकार ०.८८ प्रतिशतबाट २.५३ प्रतिशत बिन्दुले बढेर ३.४१ प्रतिशत पुगेको हो । लक्ष्मी सनराइज, माछापुच्छ«े र ग्लोबल आईएमई बैंकको निष्क्रिय कर्जा पनि १ प्रतिशत बिन्दुभन्दा बढीले वृद्धि भएको छ । बैंकको निष्क्रिय कर्जाको साधारण औषत ३.०१ प्रतिशतबाट ३.५४ प्रतिशत पुगेको छ ।
अर्थतन्त्रको सुस्तताका कारण ऋणीको ऋण तिर्न सक्ने क्षमता घटिरहेको अवस्थामा बैंकहरूले कर्जा असुल्न नसकेपछि निस्कृय कर्जा बढेको हो ।
एनआईसी एशिया, नेपाल इन्भेष्टमेण्ट मेगा, कुमारी र हिमालयन बैंकको वितरणयोग्य नाफा ऋणात्मक रहेको छ । गत असार मसान्तसम्ममा २० वाणिज्य बैंकको वितरणयोग्य नाफा ७ अर्ब ६२ करोड रूपैयाँ छ । अघिल्लो आवको असार मसान्तसम्म १५ अर्ब ६४ करोड ४५ लाख रूपैयाँ वितरणयोग्य नाफा थियो । एक वर्षको अवधिमा बैंकहरूको वितरणयोग्य नाफा ५१.२८ प्रतिशतले घटेको सार्वजनिक गरिएको वित्तीय विवरणले देखाएको छ ।
अघिल्लो आवमा ऋणात्मक रहेको प्रभु बैंक र प्राइम बैंकको वितरणयोग्य नाफा गत आवमा क्रमशः १ अर्ब २२ करोड र १ अर्ब १९ करोड रूपैयाँ रहेको छ । २० बैंकमध्ये सबैभन्दा बढी वितरणयोग्य नाफा नबिलको छ । यस बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८५ करोड ७३ लाख रूपैयाँ छ, जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २१.०३ प्रतिशतले बढी हो ।
एभरेष्ट बैंकको वितरणयोग्य नाफा ३ अर्ब ५१ करोड ४४ लाख रूपैयाँ रहेको छ, जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १४.५० प्रतिशतले कम हो । कृषि विकास बैंकको वितरणयोग्य नाफा २ अर्ब ६६ करोड २८ लाख रूपैयाँ रहेको छ । नेपाल एसबीआई बैंकको वितरणयोग्य नाफा ५.५८ प्रतिशतले बढेर १ अर्ब १३ करोड २ लाख पुगेको छ । नेपाल बैंकको पनि वितरण योग्य नाफा बढेर ७६ करोड ९३ लाख र राष्ट्रिय वाणिज्य बैंकको ८२.८२ प्रतिशतले बढेर ५८ करोड २१ लाख रूपैयाँ कायम भएको छ ।
स्टयाण्डर्ड चार्टर्ड बैंकको वितरणयोग्य नाफा ७.८० प्रतिशतले घटेर असार मसान्तसम्म २ अर्ब ४९ करोड ९२ लाख रूपैयाँ कायम भएको छ । सानिमा बैंकको वितरणयोग्य नाफा ३६.२४ प्रतिशतले घटेर १ अर्ब ४१ करोड २३ लाख, लक्ष्मी सनराइज बैंकको २५.५३ प्रतिशतले घटेर १ अर्ब २८ करोड ७१ लाख र ग्लोबल आईएमई बैंकको ६५.९४ प्रतिशतले घटेर १ अर्ब १० करोड ४६ लाख रूपैयाँ वितरणयोग्य नाफा कायम भएको छ ।
सिटिजन्स बैंकको २७.२६ प्रतिशतले घटेर ६१ करोड ६१ लाख, माछापुच्छ्रे बैंकको ६७.८० प्रतिशतले घटेर ४६ करोड ६४ लाख, सिद्धार्थ बैंकको ४४.७६ प्रतिशतले घटेर ३६ करोड ६६ लाख र एनएमबि बैंकको ७९.०५ प्रतिशतले घटेर २३ करोड ९० लाख रूपैयाँ वितरणयोग्य नाफा कायम भएको छ ।
FACEBOOK COMMENTS