काठमाडौं,बैशाख १ – आज वि सं २०७७ बैशाख १ गते अर्थात नयाँ बर्ष । आज एकापसमा शुभकामना आदानप्रदान गरी नयाँ बर्ष मनाइँदैछ ।
आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो । यस दिनमा नेपालीहरुले मिठो मसिनो खाएर घर परिवार तथा आफन्तहरुसँग बसेर रमाइलो गर्ने, रमणिय स्थानहरु घुम्न जाने गर्दछन् । तर यस बर्षको नयाँ बर्षको रौनक भने कम भएको छ । विश्वभरी फैलिएको कोरोना भाइरस (कोभिड १९ )को संक्रमणको नफैलियोस् भनेर सरकारले देश लकडाउन गरेको आज २१ औं दिन पुगेको छ । सबै नागरिकहरु घर भित्रै रहेका छन् । घर भित्रै रहेर मानिसहरुले सामाजिक सञ्जाल तथा फोन मार्फत शुभकामना व्यक्त गरेका छन् । सबैले नयाँ बर्षको आगमनसँगै कोरोनाको प्रभाव हटेर जाओस् भन्ने भावका शुभकामना संदेशहरु सामाजिक सञ्जालमा पोष्ट गरिरहेका छन् ।
नयाँ वर्षको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उप-राष्ट्रपति नन्दबहादुर पुन, काग्रेस सभापति शेरबहादुर देउवा, नेकपाका अध्यक्ष पुष्प कमल दहाल ‘प्रचण्ड’ लगायतले शुभकामना व्यक्त गरेका छन् । नयाँ बर्षको शुभकामनासँगै सबैले लकडाउनलाई पूर्ण पालना गर्दै क्वरेण्टीनमा बस्न पनि आग्रह गरेका छन् ।
शुभकामना संदेश दिदैं राष्ट्रपति विद्यादेवी भण्डारीले यस संवेदनशील परिवेशले आपसी सहयोग, लोककल्याण, त्याग र समर्पणलाई थप सशक्त तुल्याउ मदत गर्ने विरशवास व्यक्त गरेकी छिन् । राष्ट्रपतिको संदेशमा भनिएको छ- ‘अहिले मानव सभ्यतामाथि नै ठूलो विपत् आइलागेकाले अमूल्य जीवन रक्षाका लागि विपत्लाई अन्तर्राष्ट्रिय समुदायसहित सबैले आ-आफ्नो ठाउँबाट आफूसक्दो सहयोग गर्न अग्रसर हुनुपर्छ भन्ने मलाई लागेको छ । कोरोनाभाइरस सिर्जित यस विपत्मा साझा प्रयास गर्दा मानवजातिको जित सुनिश्चित छ । यस कठिन घडीमा उच्च मनोबल र सकारात्मक सोंचका साथ महामारीको रोकथाम एवम् नियन्त्रणका लागि सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरू पुनः एकपटक एकजुट भई अगाडि बढ्न नयाँ वर्षले सबैमा उर्जा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।’
अन्तमा, महामारीको संक्रमण रोक्ने उपायका रूपमा अवलम्बन गरिएको ‘लकडाउन’का कारण यस पटक नयाँ वर्ष मनाउने र हर्षोल्लास आदानप्रदान गर्ने कार्यमा सावधानी अपनाउन ध्यानाकर्षण गराउँदै नयाँ वर्ष २०७७ ले राष्ट्रमा दिगो शान्ति, सुदृढ राष्ट्रिय एकता र सामाजिक सद्भावसहित आर्थिक समृद्धिको लागि नयाँ जोश, जाँगर र उत्साह पैदा गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।
यसै बिच आज प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गर्दै नयाँ वर्ष २०७७ का अवसरमा सबै देश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना व्यक्त गर्नुका साथै कोरोनाको महामारीलाई जित्न दृढ सङ्कल्पका साथ सकारात्मक सोच राख्न सबै नागरिकमा आग्रह गरेका छन् । प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा मानव जातिले आदिमकालदेखि नै प्राकृतिक र मावन सिर्जित विभिन्न विपद्सँग लड्दै र त्यसमाथि विजय हासिल गर्दै आएको र यस पटक पनि कोरोना र सम्भावित अन्य महामारीलाई परास्त गर्ने दृढ सङ्कल्प, त्यही अनुसारको व्यवहार र आवश्यक क्रियाशीलतासहित आपसमा शुुभकामना आदान प्रदान गर्न प्रधानमन्त्री ओलीले आग्रह गरेका छन् ।
उप- राष्ट्रपति नन्दबहादुर पुनले आज एक शुभकामना संदेश जारी गरी कोभिड–१९ भाइरसविरुद्धको संघर्षमा राष्ट्रिय एकता प्रदर्शन गर्न सबै नेपालीलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । उनले नयाँ वर्षको प्रारम्भिक महिनाहरूमै कोरोना महामारी नियन्त्रण हुने र देश पुनः ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न पुरानै लयमा फर्कने विश्वाससमेत व्यक्त गरेका छन् ।
त्यसैगरी काग्रेस सभापति शेरबहादुर देउवाले नयाँ वर्ष विसं २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै उनले विश्वव्यापी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणविरुद्ध सबै एकजुट भएर लड्न आवश्यक रहेको उल्लेख गरेका छन् ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नयाँ वर्षमा कोरोना (कोभिड–१९) भाइरसविरुद्धको संघर्षमा माानव जगतले सफलता मिलोस् भन्ने कामना व्यक्त गरेका छन् । प्रचण्डले आफ्नो संदेशमा भनेका छन् ।‘नयाँ वर्षले कोरोना (कोभिड–१९) भाइरसको महामारीका विरुद्ध संघर्षरत मानव जाति र आम नेपाली जनतालाई पूर्ण सफलतासहित सु–स्वास्थ्य, शान्ति र समृद्धिको कामना गर्दछु ।’ ‘सबै जातीय समुदाय, राष्ट्रिय राज्य, धार्मिक समुदाय र वर्गीय समुदायमा समेत समानरुपले आक्रमण गरिरहेको कोरोना भाइरसविरुद्धको संघर्षमा नयाँ वर्षले मानव जातिकै नयाँ अन्तर्राष्ट्रिय एकता र राष्ट्रिय एकताको आधार दिने विश्वास प्रकट गर्दछु ।’
राष्ट्र प्रमुख, आफन्त तथा साथिभाईहरु सबैतिरबाट शुभकामना आइरहेता पनि अहिलेको नयाँ बर्ष भने नेपालीहरुका लागि खल्लो भएको छ । घरभित्रै थुनिएर रहेको २१ औं दिन भएको छ । मानिसहरु घरभित्रै बस्दास्दा दिक्क त पक्कै पनि भएका छन् तर यस बाहेक अरु कुनै विकल्प पनि उनीहरुसँग छैन् । कोरोना भाइरसलाई परास्त गर्ने यही मात्र अन्तिम विकल्प हाम्रो सामु रहेको छ । त्यसैले सरकारको निर्णयको पालना गरी घरभित्रै बसेर परिवारसँग बसेर नयाँ बर्ष मनाउनु नै अहिलेका लागि उत्तम विकल्प सावित भएको छ ।
विश्व नै कोरोना भाइरसको महामारीले आक्रान्त भएको यो घडीमा नयाँ बर्ष मनाउँन जमघट गर्ने र घुम्ने योजना अर्को बर्ष थाती राखेर अहिलेका लागि घरमै रमाउने वातावरण बनाउनु नै बुद्धिमानी हुन आउँछ । यो महामारीलाई परास्त गरेको दिन नै हाम्रो लागि बास्तविक नयाँ बर्ष सावित हुनेछ ।
FACEBOOK COMMENTS