काठमाडौं । चाडपर्वसँगै गुणस्तरहीन अखाद्य वस्तुकाे बिक्री बढेको बजार अनुगमनले देखाएको छ । व्यापार व्यवसायका नाममा व्यापारीहरूले उपभोक्ताको स्वास्थ्यमाथि चरम खेलबाड गरेको अनुगमनबाट भेटिएको हो ।
व्यापारीहरूले ढुसी परेका घिउ र खिया लागेका भाँडा प्रयोग गरी उपभोक्तालाई गुणस्तरहीन खाद्य वस्तु बिक्री गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको बजार अनुगमनबाट देखिएको छ ।
विभागले बजार अनुगमनका लागि दैनिक रूपमा दुई वटा अनुगमन टोली खटाएको छ । उक्त अनुगमन टोलीले ढुसी परेका घिउ बिक्री गरेको फेला पारेको हो । काठमाडौंको बानेश्वरस्थित एकता मार्गमा नयाँ अर्जुन डेरी प्रालि नामको खाद्य उद्योगले ढुसी परेको घिउ बिक्री गर्ने गरेको भेटिएको विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले बताएका छन् । अनुगमन टोलीले निरीक्षण गर्दा उक्त डेरीले ढुसी लागेको, लेबल नभएको घिउ बिक्री गरेको भेटाएको थियो ।
बटरबाट घिउ तयार गर्ने भाँडो फोहोर अवस्थामा रहेको तथा घिउ उत्पादनका लागि अनुमति पत्र समेत नलिएको भेटिएकोले जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रतिनिधिको रोहवरमा उद्योगको भण्डारण कक्ष शिलबन्दी गरिएको छ । गुणस्तरहीन खाद्य वस्तु बिक्री गर्ने उद्योगी व्यवसायीलाई खाद्य स्वच्छता गुणस्तर ऐन, २०८१ मा भएको व्यवस्था बमोजिम कारबाही गर्ने विभागले बताएको छ ।
ललितपुरको गोदावरी ११, नबुचा स्थित प्रशंसा कलेक्सन एण्ड रिफाईन नामको खाद्य उद्योग अनुगमन गर्ने क्रममा वनस्पति घिउलाई खिया लागेको ड्रममा तताएर राधाकृष्ण ब्राण्डमा जुजुघिउ र अर्चना ब्राण्डको शुद्ध घिउको नाममा एक लिटर र आधा लिटरका डब्बामा प्याक गरेर नक्कली घिउ बिक्री गर्ने गरेको फेला परेको पनि विभागले बताएको छ ।
उत्पादन स्थल फोहोर रहेको तथा घिउ, वनस्पति घिउ प्रशोधन, उत्पादन र प्याकिङ गर्नको लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनुमति पत्र समेत नलिएको विभागले बताएको छ ।
अनुगमन टोलीले सम्येक बेकरी सटिंग घिउ प्याकेजिंग उद्योग, ललितपुर–२७ विन्दवासिनी आयल इण्डस्ट्रीज प्रालि, सुनाकोठी–१ ललितपुरको नन्द वाचा डेरी उद्योग, महालक्ष्मी–१,ललितपुर र राज फुड प्रोडक्ट्स ललितपुर–२५ स्थित खाद्य उद्योगहरूको अनुगमन निरीक्षण गरी खाद्य स्वच्छता कायम गर्न आवश्यक निर्देशन दिएको छ ।
अनुगमन टोलीले बुढानीलकण्ठ नगरपालिका–१२, कपनस्थित भक्तपुर दही पसलको निरीक्षण अनुगमन गरेको छ । पसलले विभिन्न उद्योगबाट दूध दही, घिउ, पनिर खरिद गरी बिक्री गरेको पाइएको, प्याक गरिएका खाद्य पदार्थमा लेबल नराखी दुग्ध पदार्थ बिक्री गरेको तथा खरिद बिलसमेत पेश गर्न नसकेको पाइएको छ । लेबल विवरण नभएको घिउ ५०० मिलि लिटरको ६ बट्टा र २०० मिलि लिटरको ३ बट्टा पाइएकोमा हाललाई सो घिउको डब्बालाई अर्को आदेश नभएसम्मको लागि बिक्री वितरणमा रोक लगाइएको छ ।
यसैगरी विश्लेषण परीक्षणका लागि सो घिउको १ थान नमुना संकलन गरिएको छ । खाद्य स्वच्छता गुणस्तर ऐन, २०८१ को प्रावधान बमोजिम निषेधित कार्यहरू नगर्न नगराउन सबै खाद्य उद्योगी व्यवसायीहरुलाई जानकारी गराई ऐनबमोजिम कारबाही हुने व्यहोरा सूचित गराएको विभागका प्रवक्ता महर्जनले बताए ।
काठमाडौं–९ सिनामंगलस्थित प्राप्ति फुड प्रोडक्टस उद्योगको भण्डारण कक्षमा प्याक गरी लेबल नलगाएको अवस्थाको १ लिटरको ३० डब्बा घिउ, करिब ३० केजी भण्डारण गरेको नौनी र करिब ५० लिटर तयारी घिउ ड्रममा भण्डारण गरिएको भेटिएको विभाग अधिकारीले बताएका छन् । उक्त घिउको गुणस्तरमा शंका लागेकोले बिक्रीमा रोक लगाइएको विभागले जनाएको हो ।
बजार अनुगमनमा सुर्यविनायक नगरपालिका–३, बालकोट, भक्तपुरस्थित वि.के. पूर्वेली घिउ प्याकिङ उद्योगमा १ लिटरको १० डब्बा र ५ सय मिलि लिटरको २० डब्बा घिउ पाइएकोमा ५ सय मिलि लिटरको घिउको ऐन बमोजिम नमुना संकलन गरी परीक्षणका लागि प्रयोगशालामा पठाएको छ ।
FACEBOOK COMMENTS