काठमाडौं । ज्योति विकास बैंकले देशका ग्रामीण क्षेत्रमा जीवनरक्षक चिकित्सा उपकरणको आवश्यकतालाई ध्यानमा राखी धादिङ जिल्लाको नेत्रावती डबजोङ अस्पतालमा नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न र हाइपोथर्मिया (अल्पताप) हुनबाट जोगाउनका लागि बेबी वार्मर (न्यानो नानी) मेसिन प्रदान गरेको छ ।
ज्योति विकास बैंकको सामरी शाखाको पहलमा नेत्रावती डबजोङ गाउँपालिका वडा नं. ४, भोग्टेनीमा अवस्थित उक्त अस्पतालमा बेबी वार्मर जडान गरेको हो । विशेषगरी ग्रामिण क्षेत्रमा हाइपोथर्मियाको दर उच्च रहेको र यसका कारण नवजात शिशुहरूको जीवन जोखिममा पर्ने गरेको दृष्टान्तलाई हृदयङ्गम गर्दै उक्त जोखिमलाई न्यूनीकरण गर्ने अत्यन्त संवेदनशील र महत्त्वपूर्ण उपकरण उक्त अस्पताललाई प्रदान गरिएको हो ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत नेत्रावती डबजोङ अस्पतालसहितलाई गरी हालसम्म ४७ वटा मेसिनहरू प्रदान गरिसकेको छ ।
बैंकले विभिन्न चरणमा देशका विभिन्न अस्पताल, स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टरहरूमा यसअघि प्रदान गरेका ४६ वटा बेबी वार्मर उपकरणहरूमार्फत हरेक वर्ष करिब १६८० भन्दा बढी नेपाली शिशुहरूलाई यो सुविधा उपलब्ध भइरहेको छ । साथै हालसम्मको योगदानले करिब ८५०० भन्दा बढी शिशुहरू प्रत्यक्ष रूपमा यस सेवाबाट लाभान्वित भएका छन् ।
नेत्रावती डबजोङ अस्पतालमा आयोजित कार्यक्रममा बैंकका पदाधिकारीबाट उक्त स्वास्थ्य चौकीका पदाधिकारीलगायत सम्बन्धित क्षेत्रका विभिन्न पदाधिकारीहरूको उपस्थितिका बीच सो बेबी वार्मर औपचारिक रूपमा हस्तान्तरण गरिएको हो । साथै, सोही कार्यक्रमका बीच अस्पतालका डाक्टर, नर्सलगायत सम्बन्धित कर्मचारीहरूलाई विज्ञमार्फत बेबी वार्मर सञ्चालनसम्बन्धी विशेष तालिम पनि प्रदान गरिएको थियो । उपकरण जडानका साथै त्यसको उच्चतम सदुपयोग निश्चित गर्न बैंकले विशेष तालिमका लागि पनि समन्वय गर्दै आएको छ ।
ज्योति विकास बैंकले हाल १२१ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
FACEBOOK COMMENTS