काठमाडाैँ। नेपालको सार्वजनिक ऋणको आकार २५ खर्ब २३ अर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको रिपोर्ट अनुसार मुलुकले तिर्न बाँकी ऋण २५ खर्ब २३ अर्ब ३ करोड ९३ लाख रुपियाँ पुगेको हो । कार्यालयका अनुसार चालु आर्थिक वर्षको तीन महिनामा मात्र ८८ अर्ब ९३ करोड रुपियाँ ऋण थपिएको छ । २०८१ असार मसान्तसम्ममा मुलुकको तिर्न बाँकी ऋणको आकार २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा भूक्तान बाँकी कूल ऋणमध्ये आन्तरिकतर्फ १२ खर्ब ३६ अर्ब ३० करोड रुपैयाँ अर्थात् ४९ प्रतिशत रहेको छ भने बाह्यतर्फ १२ खर्ब ८६ अर्ब ७३ करोड (५१ प्रतिशत) रहेको छ । असोज मसान्तसम्म कायम कूल तिर्न बाँकी सार्वजनिक ऋणको आकार कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा ४४.२३ प्रतिशत रहेको छ । यदी कूल तिर्न बाँकी ऋणलाई कूल जनसंख्याले भाग गर्ने हो भने प्रतिव्यक्तिको थाप्लोमा ८६ हजार ७ सय रुपियाँ बढी पर्ने स्थिति छ ।
चालु आर्थिक वर्षमा आन्तरिक र बाह्य गरी कूल ५ खर्ब ४७ अर्ब रुपैयाँ ऋण परिचालन गर्ने लक्ष्य राखेकोमा असोज मसान्तसम्म एक खर्ब ३६ अर्ब ३२ करोड रुपियाँ प्राप्त गरिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । यो कूल लक्ष्यको जम्मा २४.९२ प्रतिशतको उपलब्धी हो ।
FACEBOOK COMMENTS