झापा । नेपालीहरूको दोस्रो ठूलो चाड, फूलहरूको पर्व तिहार नआउँदै सयपत्री फूलको माग हुन थालेकोे छ । आफ्ना दाजुभाइलाई स्थानीयस्तरमै उत्पादित सयपत्रीको माला लगाउने उद्देश्यले व्यावसायिक फूलको खेती गर्दै आएका किसानसँग अग्रिम माग हुन थालेको हो ।
विर्तामोड नगरपालिका-९ की सुष्मा भण्डारीले १० कठ्ठा जमिनमा सयपत्री फूलखेती गरेकी छन् ।
‘यस वर्ष फूलखेती राम्रो सप्रेको थियो, वर्षाका कारण धेरै बिरूवा मरे,’ उनले भनिन्, ‘सोचेजति फूल फुलाउन सकिएन, मालाको माग धेरै छ तर उत्पादन कम भयो ।’
भण्डारीले विगतमा जस्तै फूलको एक महिना अघिदेखि माग आइरहेकाे र उत्पादन कम भएकाले पुर्याउने अवस्था नरहेको बताइन् । यहाँ प्रतिकेजी तीन सय ५० रूपैयाँका दरले फूलको मूल्य तोकिएको छ ।
तिहारमा मात्र होइन न्वारानदेखि घाटसम्म र मन्दिरदेखि घरसम्म प्रयोग हुने सयपत्री नेपालीहरूले धेरै मन पराउने फूलमा पर्छ । सभा समारोह सजाउन, पाहुनालाई सम्मान गर्न पनि सयपत्री फूलको माला रोज्ने गरिन्छ ।
नेपालमा भने यसको उत्पादन वृद्धि नहुँदा भारतबाट महँगोमा आयात गरेर माग धान्नु परिरहेको व्यापारीहरू बताउँछन् । पुुष्प व्यवसायी भण्डारी फूलमाथिको परनिर्भरता हटाउन यहाँका किसानलाई व्यावसायिक फूलखेतीतर्फ आकर्षित गर्न स्थानीय सरकार अग्रसर हुनुपर्ने बताउँछिन् ।
विगतमा जिल्लामा २० बिघाभन्दा बढी जमिनमा सयपत्री फूलको व्यावसायिक खेती हुँदै आए पनि यसवर्ष भने घटेको अनुमान छ । मेचीनगर, भद्रपुर, विर्तामोड, कनकाई, दमक, गौरादह नगरपालिकालगायत किसानले पाँच कठ्ठादेखि एक बिघामा तिहारलाई लक्षित गरेर सयपत्री फूलखेती गरिरहेका छन् ।
FACEBOOK COMMENTS