माधव पौडेल/ तनहुँ, २६ वैशाख – तनहुँमा लकडाउन खुकुलो पारिएको छ । विकास निर्माण कार्यहरुलाई पनि प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने भएकाले जिल्लामा लकडाउनलाई आंशिकरुपमा खुकुलो पार्ने निर्णय गरिएको हो । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानको उपस्थितीमा शुक्रवार बसेको सरोकारवालाहरुको बैठकले सो निर्णय लिएको हो । बैठकले खाद्यान्न पसल, पुस्तक पसल , कृषि , विऊ विजन तथा नर्सरी पशुपंक्षी आहार सम्बन्धी पसलहरु बिहान ६ बजे देखि १० बजेसम्म र निर्माण सामाग्रीका हार्डवेयर पसल बेलुका ५ बजे देखि ९ बजेसम्म खुल्ला गर्ने निर्णय गरेको छ ।
बैठकमा मन्त्री चुमानले लकडाउनले जनजीवन प्रभावित भइरहेको र विकास निर्माणका कार्यहरु गर्नका लागि निर्माण सामाग्री आवश्यक पर्ने हुँदा निर्माण सामाग्री पसल सिमित समय खुल्ला राख्नुपर्ने निर्णय गर्नुपर्ने धारणा राखेका थिए । बैठकमा लकडाउनलाई आंशिक खुकुलो पारे पस्चात् उक्त नियमको पालना भए नभएको विषयमा जिल्ला स्थित स्थानीय तहलाई अनुगमन गर्न आग्रह गर्ने निर्णय लिईएको छ । सर्वपक्षीय बैठकमा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले , स्थानीय तहका प्रमुखहरु प्रमुख जिल्ला अधिकारी र राजनितिक दलका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । गण्डकी प्रदेश हालसम्म कोरोनाको प्रकोपमा नपरेको र जिल्लामा त्यसको सम्भावना नभएका कारणले पनि जनजीवनलाई केहि सहज बनाउन उक्त निर्णय गरिएको सरोकारवालाहरुको भनाई रहेको छ ।
FACEBOOK COMMENTS