दमौली (तनहुँ) । भाषा, साहित्यका माध्यमबाट राष्ट्रसेवा गर्ने उद्देश्यले यहाँ स्थापना भएको गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चले यस वर्षको क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार साहित्यकार सरूभक्तलाई प्रदान गर्ने भएको छ ।
प्रतिष्ठानको शनिबार सम्पन्न बैठकले २५ हजार रूपैयाँ राशिको उक्त पुरस्कार सरूभक्तलाई प्रदान गर्ने निर्णय गरेको हो ।
नेपाली साहित्यको उन्नयनमा उनले गरेको योगदानको कदर गर्दै कवि सरूभक्तलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय भएको मञ्चका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए ।
यसैगरी, ‘नेपाल अधिराज्यमा तनहुँ’ वाङ्मय पुरस्कार भारत कोलकाताका सत्यप्रकाश तिवारीलाई प्रदान गर्ने निर्णय भएको छ । उक्त पुरस्कारको राशि पनि २५ हजार रूपैयाँ छ ।
साथै १० हजार रूपैयाँ राशिको गीतल राष्ट्रिय पुरस्कार दैलेखका ओम रिजाललाई प्रदान गर्ने निर्णय भएको छ भने पाँच हजार रूपैयाँ राशिको गीतल प्रतिभा पुरस्कार भिमाद नगरपालिका निवासी नारायणकैलाश सिग्देललाई प्रदान गरिने भएको छ । यी सबै पुरस्कार आगामी चैतमा एक कार्यक्रम आयोजना गरी प्रदान गरिने छ ।
FACEBOOK COMMENTS