चितवन । मनकामना ग्रुप अफ कम्पनीअन्तर्गत सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यले स्थापना भएको संस्था मिसिका फाउण्डेशनले मंसिर ६ गते चितवनको इच्छाकामना-६, कालीखोलास्थित देवी भञ्ज्याङ राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाहरूलाई न्यानो कपडा वितरण गरेको छ । विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि स्व. मिसिका अर्यालको १०औं स्मृति दिवस पारी जाडोमा न्यानो कपडा तथा स्टेशनरीका सामाग्रीहरू वितरण गरेको हो ।
विशेष गरी विपन्न समुदायअन्तर्गत चेपाङ समुदायका बालबालिकाहरू अध्ययन गर्ने उक्त विद्यालय चितवनको सदरमुकाम भरतपुर तथा मुग्लिन बजार एवं हाइवेबाट नजिकै भए तापनि ‘बत्तीमुनिको अँध्यारो’जस्तै दुर्गम मानिन्छ । कार्यक्रम मिसिका फाउण्डेशन, इनर व्हील अफ नारायणी , लायन्स क्लब अफ चितवन सिटी र लायन्स क्लब अफ चितवन मर्सीले संयुक्त रूपमा सम्पन्न गरेका हुन् ।
कार्यक्रममा बोल्दै मनकामना ग्रुप अफ कम्पनी तथा मिसिका फाउण्डेशनका निर्देशक मधुसुदन अर्यालले यस कार्यक्रम विपन्न समुदायका बालबालिकाहरूका लागि सहाराको सानो प्रयास भएको बताए । उनले एउटा मिसिका गुमाउनु परे तापनि यस विद्यालयबाट सयौं मिसिकाहरूको माया प्राप्त गरिरहेको बताए ।
यस्तै विद्यालयका प्रधानाध्यापक ज्ञानु पाण्डेले मिसिका फाउण्डेशनले गर्दै आएको यस कार्यक्रमले विद्यार्थीहरूमा विद्यालय जानुपर्छ र पढ्नुपर्छ भन्ने भावना विकास भएको बताए । उनले मिसिका फाउण्डेशनले गर्दै आइरहेको यस कार्य निकै सराहानीय रहेको बताए ।
फाउण्डेशनमार्फत जाडोमा न्यानो कपडा प्राप्त हुँदा विद्यार्थी तथा अभिभावकहरू हर्षित छन् । फाउण्डेशनमार्फत न्यानो कपडा तथा स्टेशनरीका समानहरू पाउँदा निकै खुसी लागेको कक्षा ६ मा अध्ययनरत छात्रा संगीता चेपाङले बताइन् ।
फाउण्डेशनले आगामी दिनहरूमा पनि यस्ता कार्यहरूलाई निरन्तरता दिने बताएको छ ।
FACEBOOK COMMENTS