झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दमक व्यापारिक कम्प्लेक्सले रोजगारी सिर्जना र पर्यटन प्रवरद्धनमा उल्लेख्य टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
व्यापारिक कम्प्लेक्सको उद्घाटन कार्यक्रममा आज उनले उद्योगी–व्यापारीहरूबाट यहाँ व्यापार–व्यवसाय सञ्चालनका लागि अनौपचारिक प्रस्ताव आउन थालिसकेकाले सयौँ युवाले रोगजारी पाउने बताए । “बजारमा यस कम्प्लेक्सका बारेमा गलत प्रचार भए पनि यहाँको विकासले त्यसको जवाफ दिनेछ । यसको सञ्चालनले दमक र प्रदेश मात्रै होइन, समग्र देशलाई नै आर्थिक विकासमा लाभ पुग्नेछ । त्यसैले प्रदेश सरकारले कम्प्लेक्स सञ्चालनका लागि प्राथमिकता दिएको छ”, मुख्यमन्त्री कार्कीले भने ।
कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापाले पनि कम्प्लेक्सबाट बढीभन्दा बढी लाभ लिने गरी व्यवस्थापन गर्नुपर्ने आवश्यकता औँल्याए । उनले नेपाली कांग्रेस र नेकपा एमाले नेतृत्वको वर्तमान सरकारले देशको राष्ट्रिय आवश्यकता पूर्ति एकताबद्ध भएर काम गर्नुपर्ने बताए ।
दमक नगरप्रमुख रामकुमार थापाले स्थानीय, प्रदेश तथा सङ्घीय सरकारको सहकार्य भएमात्र विकास र समृद्धिको लक्ष्यमा पुग्न सकिने धारणा राखे ।
FACEBOOK COMMENTS