काठमाडौं – अस्ट्रेलियाको मेलबर्नमा शनिबारदेखि ‘मेड इन नेपाल एक्स्पो’ सुरु भएको छ। नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले महिला उद्यमी महासंघ नेपालका अध्यक्ष शोभा ज्ञवालीको नेतृत्वमा यो कार्यक्रम आयोजना गरिएको हो।
एक्स्पोको उद्घाटन समारोहमा मारिबिर्नोङ काउन्सिलका मेयर प्रदीप तिवारी प्रमुख अतिथिका रूपमा सहभागी थिए। साथै, काउन्सिलर मिस सु बोल्टन, ढोरपाटन नगरपालिकाका कार्यवाहक नगरप्रमुख धनबहादुर कायत, गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष शेष घले, उद्यमी जमुना घले लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
मेयर तिवारीले उद्घाटन समारोहमा महिला उद्यमी महासंघलाई सहयोग गर्ने प्रतिबद्धता जनाउँदै नेपाली उत्पादनलाई उत्कृष्ट बताएका थिए। उनले कार्यक्रमका लागि आवश्यक व्यवस्थापन र सहयोग उपलब्ध गराउने आश्वासन दिए। काउन्सिलर बोल्टनले पनि अस्ट्रेलियाको तर्फबाट यस्ता कार्यक्रमहरूलाई निरन्तर सहयोग गर्ने बताइन्।
उद्यमी शेष घलेले नेपाली उत्पादनलाई विश्व बजारमा प्रभावकारी रूपमा प्रवर्द्धन गर्न यस्ता प्रदर्शनीहरूको आयोजनामा थप सुधार आवश्यक रहेकोमा जोड दिए। महिला उद्यमी महासंघ नेपालका अध्यक्ष शोभा ज्ञवालीले एक्स्पोलाई महासंघको पहिलो अन्तर्राष्ट्रिय सहआयोजनाका रूपमा ऐतिहासिक महत्वको कार्यक्रम भनेकी छिन्।
एक्स्पोमा नेपाली उद्यमीहरूले उत्पादन गरेका हस्तकला, कृषि सामग्री, कपडा, रेसाजन्य वस्तु, शिक्षा, पर्यटन, खाद्य सामग्री तथा सांस्कृतिक उत्पादनहरूको प्रदर्शन र बिक्रीको व्यवस्था गरिएको छ।
महिला उद्यमी महासंघ नेपाल र नेप्को इन्टरटेनमेन्टको सहकार्यमा सम्पन्न भइरहेको यो कार्यक्रम आइतबारसम्म चल्नेछ। यसले नेपाली उत्पादन र संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य राखेको छ।
FACEBOOK COMMENTS