काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले आफ्नो नवौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बिहीबार काठमाडौंको बूढानीलकण्ठस्थित लेमन ट्री प्रिमियर होटेलमा साधारणसभा सम्पन्न भएको हो ।
क्यापिटलका सञ्चालक समितिका अध्यक्ष दीपक पाण्डेयको अध्यक्षतामा सम्पन्न साधारणसभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनउपर सहभागी शेयरधनीहरूले राखेका जिज्ञासाबारे अध्यक्ष पाण्डेय तथा प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराईले स्पष्ट पारेका थिए ।
सभामा गरिमा विकास बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष, पूर्वअध्यक्षहरू, गरिमा म्युचुअल फण्डअन्तर्गत गरिमा समृद्धि योजनाका कोष सुपरीवेक्षकहरू तथा शेयरधनीहरू उपस्थित थिए । साधारण सभा कार्यक्रम क्यापिटलका कम्पनी सचिव अशोक सुवेदीले सञ्चालन गरेका थिए साथै स्वागत मन्त्यव्य क्यापिटलका सञ्चालक एवं गरिमा विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीले राखेका थिए ।
नवौं वािर्षक साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको २०८१ असार मसान्तको वासलात तथा सोही मितिमा समाप्त आव २०८०/८१ को नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण स्वीकृत गर्ने, कम्पनी ऐन-२०६३ को दफा १११ अनुसार आव २०८१/८२ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र तिनको पारिश्रमिक निर्धारण गर्ने तथा कम्पनीको छैटौं तथा आठौं वार्षिक साधारणसभाबाट नियुक्त सञ्चालकहरूमध्ये एक-एक सञ्चालक पद रिक्त भएको र रिक्त पदमा सञ्चालक समितिद्वारा बाँकी कार्यकालका लागि सञ्चालकहरू नियुक्त गरेकोमा सो नियुक्ति अनुमोदन गर्ने सम्पूर्ण निर्णयहरू सर्वसम्मतले पारित गरेको छ ।
गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । यस संस्थाले हाल सामूहिक लगानी कोषको योजना व्यवस्थापनका साथै प्रत्याभूति सेवा, लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य डिम्याट तथा मेरोशेयर खातासम्बन्धी सेवा प्रवाह गर्दै आएको छ ।
गरिमा क्यापिटल लिमिटेडका सम्पूर्ण सेवाहरू ग्राहकसमक्ष पुर्याउनका लागि गरिमा विकास बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरूबाट समेत सहजीकरण हुँदै आएको छ । यस संस्थाले आफ्ना सेवाहरू अझ परिस्कृत र ग्राहकमैत्री तवरबाट प्रवाह गर्नका निमित्त विभिन्न नवीनतम प्रविधिहरूको प्रयोग गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
FACEBOOK COMMENTS