काठमाडौं । नबिल बैंकले जाजरकोट र रूकुम पश्चिमका भूकम्प प्रभावितलाई कम्बल वितरण गरेको छ । भूकम्पपछि जाजरकोट र रूकुम पश्चिममा बैंकले निर्माण गरेका ९६ वटा अस्थायी आवासमा बसोबास गरिरहेका परिवारलाई कम्बल वितरण गरिएको हो ।
बैंकले एक कार्यक्रम आयोजना गरी यही माघ १ गते नलगाड-१ का वडा अध्यक्ष धनबहादुर महर र माघ २ गते चौरजहारी-१ का वडा अध्यक्ष इन्द्रे गिरीको उपस्थितिमा कम्बल वितरण गरेको थियो । यस वर्षको हिउँद पनि अस्थायी आवासमा बिताउनुपर्दा खासगरी वृद्धवृद्धा, बालबालिका र सुत्केरीहरूको स्वास्थ्यमा पर्न सक्ने समस्यालाई ध्यानमा राखी कम्बल वितरण गरिएको नबिल बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले बताए ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्थानीय सरकारसँगको साझेदारीमा जाजरकोटको नलगाड नगरपालिका-१ मा ४७ र रुकुम पश्चिमको चौरजहारी नगरपालिका-१ का भूकम्पपीडितका लागि ४९ वटा अस्थायी आवास निर्माण गरेको थियो । सोही अस्थायी आवासमा बसोबास गर्ने परिवारका लागि यसपटक कम्बल वितरण गरिएको बैंकले जनाएको छ ।
त्यस अवसरमा नलगाड-१ का अध्यक्ष महर र चौरजहारी-१ का अध्यक्ष गिरीले भूकम्प प्रभावितका लागि ओत लाग्न सुरक्षित ठाउँ उपलब्ध गराउनुका साथै यस वर्ष चिसोबाट बच्न कम्बल वितरण गरी राहत उपलब्ध गराएकामा नबिल बैंकलाई धन्यवाद दिए ।
वि. सं. २०८० कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका-१, रामीडाँडा केन्द्रविन्दु भई ६.४ रेक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र रूकुम पश्चिममा ठूलो क्षति पुर्याएको थियो ।
नबिल बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित विभिन्न सामाजिक कार्य गर्दै आएको छ । बैंकले विशेषगरी वित्तीय साक्षरता, उद्यमशीलता विकास, स्वास्थ्य, शिक्षा, विपद् जोखिम न्यूनीकरण, व्यवस्थापन र जलवायु परिवर्तनका क्षेत्रमा प्राथमिकताका साथ काम गरिरहेको छ ।
बैंकको उक्त प्रयासबाट विभिन्न समुदायका हजारौं मानिसहरूको जीवनमा सकारात्मक सुधार हुनुका साथै वातावरण संरक्षणतर्फ ठोस कदम अगाडि बढाउन सहयोग पुगेको छ । विशेषगरी उद्यमशीलता विकासको क्षेत्रमा नबिल बैंकले ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप’ मार्फत फेलोसिप कार्यक्रम र सर्टिफिकेट कोर्स सञ्चालन गरी हालसम्म एक सय १७ वटा उद्यम स्थापना र एक हजार दुई सयभन्दा बढी रोजगारी सृजना गरेको छ ।
FACEBOOK COMMENTS