काठमाडौं । करिब एक दशकपछि विशालबजार कम्पनीले बार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले शेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ ।
माघ २८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले शेयरधनीहरूलाई १४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको सूचनामा उल्लेख छ ।
फागुन २८ गते त्रिभुवन आर्मी अफिसर क्लबमा सभा हुनेछ । सभाका लागि फागुन ९ गते बुक क्लोज गरिने भएको छ । फागुन ८ गतेसम्म कायम रहेका शेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् भने सभामा भाग लिने पाउनेछन् ।
सभाले सर्वोच्च अदालतको र उच्च अदालत पाटनबाट आदेश तथा फैसलाबमोजिम कम्पनी रजिष्ट्रार कार्यलयमा अभिलेखीकरण गरिएको कम्पनीको शेयर पुँजी ४ अर्ब १ करोड रूपैयाँ अनुमोदन गर्ने प्रस्ताव छ । कम्पनी ऐन, २०६३ अनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको ढाँचा परिवर्तन र पसलकवलसँग शेयर गाभी स्वतः नवीकरण हुने गरेको सम्झौता खारेज गर्ने प्रस्ताव रहेको छ।
सभाले अध्यक्षबाट प्रस्तुत हुने सञ्चालक समितिको प्रतिवेदन छलफल गरी पारित गर्नेछ । यस्तै लेखापरीक्षकद्वारा लेखापरीक्षण सम्पन्न भएको कम्पनीको आर्थिक वर्ष २०७०/०७१ देखि २०७५/०७६ सम्मको आर्थिक विवरण तथा लेखा परीक्षकको प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।
सभाले सञ्चालक समितिवाट नियुक्त लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक अनुमोदन र आर्थिक वर्ष २०८०/०८१ र २०८१/०८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रमिक तोक्नेछ । साथै सञ्चालक समितिको आर्थिक वर्ष २०७५/७६ सम्मको भत्ता एवं सुविधाहरू अनुमोदन र सोको निरन्तरता दिने प्रस्ताव रहेको छ ।
FACEBOOK COMMENTS