तनहुँ । जिल्लाको आँबुखैरेनी अस्पतालमा अहिले मौसमी बिरामी बढेका छन् । अस्पतालमा दैनिक एक सय ५० देखि दुई सयसम्म बिरामी उपचारका लागि आउने गरेका छन् ।
यसअघि अस्पतालमा दैनिक एक सय ५० जनासम्म बिरामी आउने गरेकामा पछिल्लो समय रुघाखोकी, दम, ज्वरो, श्वासप्रश्वास, सुगर, प्रेसरलगायत मौसमी बिरामीको सङ्ख्या बढेको अस्पतालका डा सुपरिटेन्डेन्ट डिबी क्षेत्रीले जानकारी दिनुभयो । उनले भने, ‘सङ्घीय सरकारले निर्धारण गरेका सबै प्रकारका खोप, जनरल ओपिडीदेखि गर्भवती जाँच, सुत्केरी तथा शल्यक्रिलयासम्मको सेवा प्रवाह भइरहेको छ ।’
विपन्न नागरिकको उपचारमा आकर्षण बढ्न थालेको भन्दै डा क्षेत्रीले अस्पतालले विपन्न नागरिकका लागि निःशुल्क उपचार सुविधा प्रदान गरेपछि सेवा लिने आकर्षित हुन थालेका बताए ।
अस्पतालका अनुसार गत साउन १ गतेदेखि हालसम्म विपन्न नागरिकको उपचारका लागि रु नौ लाख ११ हजार एक सय ११ खर्च भएको छ । आँबुखैरेनी अस्पतालको विसं २०८० मङ्सिर १ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा उद्घाटनपश्चात् अस्पताल सञ्चालनमा ल्याइएको थियो ।
अस्पतालको उद्घाटनपश्चात् एकपछि अर्को सेवा थप गर्दै नागरिकलाई सहज रूपमा उपचार दिँदै आएको छ । अस्पतालले छोटो अवधिमा आकस्मिक सेवा, आधारभूत प्रयोगशाला, एक्स–रे, भिडियो एक्स–रे, इसिजी र फार्मेसी सेवासँगै प्रसूति सेवा, आँखा उपचार र मुख तथा दन्त रोग सेवा सञ्चालनमा ल्याइसकेको छ ।
‘सरकारले तोकेका पाँच वटा लक्षित वर्ग गरिब, असहाय, अशक्त, वृद्धावृद्धालाई परिचयपत्रको आधारमा उपचारको ५० प्रतिशत छुटको व्यवस्था छ”,उनले भने ‘ शुल्न तिर्न नसक्ने व्यक्तिका लागि पूरै उपचारमा निःशुल्क गरिएको छ ।’
नागरिकका स्वास्थ्य सेवाका लागि गाउँपालिकाले अन्य सेवा सुविधा थप गर्ने कार्यमा अघि बढिरहेको गाउँपालिकाले जनाएको छ ।
आँबुखैरेनी गाउँपालिकाअन्तर्गत सञ्चालित आँबुखैरेनी अस्पतालले छ महिनाको अवधिमा १४ हजार पाँच सय ८३ जना बिरामीलाई स्वास्थ्य सेवा प्रदान गरिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार अस्पतालले आपतकालीन (इमर्जेन्सी) सेवा चार हजार तीन सय ७३ बिरामीलाई सेवा दिएको छभने छ सय ५२ बिरामीलाई भर्ना गरेर उपचार गरेको छ ।
अस्पतालले बिरामी दर्ताबाट छ लाख ६० हजार पाँच सय १० आम्दानी गरेको छभने सेवातर्फको आम्दानी रु ७७ लाख ९९ हजार दुई सय ६४ पुगेको जनाएको छ । उनका अनुसार अस्पतालले सञ्चालन गरेको फार्मेसी सेवाबाट मात्रै रु २४ लाख ४२ हजार एक सय ५६ आम्दानी गरिसकेको छ ।
अस्पतालबाट आँबुखैरेनी गाउँपालिकाका साथै छिमेकी पालिका र जिल्लाबाट सेवा लिइरहेका गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । उनका अनुसार जिल्लाको बन्दीपुर, भानु नगरपालिका, छिमेकी जिल्ला गोरखाको गोरखा नगरपालिका, पालुङटार नगरपालिका र चितवनको इच्छाकामना गाउँपालिका क्षेत्रबाट नागरिक स्वास्थ्य सेवा लिन आउने गरेका छन् ।
FACEBOOK COMMENTS