काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका नेतृत्वकर्ता दुर्गा प्रसाईंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाको भर नगर्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई आग्रह गरेका छन् ।
तत्कालीन राप्रपा नेपालमा हुँदा कमल थापा र राजेन्द्र लिङ्देनकै कमजोरीका कारण मुलुकमा राजसंस्था हटेको गम्भीर आरोप लगाउँदै उनले अब फेरि तिनै नेताको भर नगर्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई आग्रह गरेका हुन् । आज मंगलबार आफ्नै घरमा पत्रकार सम्मेलन गर्दै उनले संविधान जारी गर्ने बेलामा तत्कालीन राप्रपाका अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देनले गलत मनसायका साथ हस्ताक्षर नगरेको भए राजसंस्था र हिन्दु अधिराज्य जोगिने तर्क उनको छ ।
‘हिजो यो स्थिति ल्याएको राप्रपाले हो । संविधान जारी हुने बेलामा राप्रपा भन्ने पार्टी र त्यसका अध्यक्ष कमल थापा अनि राजेन्द्र लिङ्देनले हस्ताक्षर गरेका थिएनन् भने न राजसंस्था जान्थ्यो न हिन्दु अधिराज्य जान्थ्यो । खोलामा बगाएर तिलाञ्जी दिनेहरूले नै अहिले माहोल बनेपछि धमिलो पानीमा माछा मार्नलाई खोजिरहेका छन्,’ प्रसाईंले भने ।
उनले कमल थापा र राजेन्द्र लिङ्देनलाई गणतन्त्रको भोज खाएर राजसंस्थाको वकालत गरिरहेको आरोप पनि लगाएका छन् । ‘गणतन्त्रको भोज खाने, खड्ग प्रसाद ओलीसँग फोनमा कुरा गर्ने, माहोल बन्यो भने ढोक्सा थाप्ने ?’ दुई नेतालाई उनले प्रश्न गरेका छन् । उनले आफूले तीन वर्ष लगाएर माहोल तयार पारेको दाबी गर्दै यो माहोलमा कुनै ढोक्सा नथाप्न आग्रह गरेका छन् ।
उनले यसबारे राजाले पनि धैर्य भएर सोच्ने बेला आएको बताएका छन् । ‘राजाले पनि धैर्य भएर सोच्नुहोस् । तपाइँले यो लडाइँमा सारथि भएर रथ हाँक्नुहोस् म अर्जुनको भूमिकामा वाण चलाउँछु,’ उनले भनेका छन्, ‘दुर्गा प्रसाईं जत्तिको अर्जुन तपाइँले कहिल्यै पाउनुहुन्न ।’
प्रसाईंले दरबारका नजिकका मान्छे र सचिवालयले राजालाई सिध्याएको टिप्पणी गर्दै अब त्यस्तो गल्ती नगर्न पनि पूर्वाराजा ज्ञानेन्द्र शाहलाई अनुरोध गरेका छन् । ‘हिँजो पनि तपाइँलाई सचिवालयले सिध्यायो, आज पनि सिध्याउँदैछ र भोलि पनि सिध्याउने छ । तपाइँ होसियार हुनुहोस् । तपाइँको सचिवालय ठीक छैन,’ उनले भने ।
आफूलाई राजाले के दिन्छन् भन्ने कुराको कुनै लोभ नभएको बताउँदै उनले भोलि प्रधानमन्त्री नै बन्नुपर्यो भने पनि राजाले नभइ जनताले बनाउने कुरामा आफू स्पष्ट गरेको बताए । गणतन्त्रवादीहरूले राष्ट्रवादीको भावना र मर्म बुझेर चाँडै राजसंस्थाको पक्षमा सहमति जनाउनुपर्नेमा जोड दिँदै उनले यदि त्यसो हुन नसके मुलुक गृहयुद्धमा जाने खतरा रहेको औंल्याएका छन् ।
दुर्गा प्रसाईंको पत्रकार सम्मेलन : देशलाई गृहयुद्धमा जानबाट जोगाउन दलहरूलाई आग्रह
FACEBOOK COMMENTS