काठमाडौँ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवम् पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।
असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवम् सामाजिक एकताको पर्वका रूपमा फागु पर्व मनाउने चलन छ । हिरण्यकशिपुले बहिनी होलिकालाई दन्किरहेको आगोमा छोरा प्रह्लादसहित पस्न लगाउँदा होलिका भष्म भएकी र भक्त प्रह्लाद भने सकुशल निस्केको प्रसङ्ग पुराणहरूमा उल्लेख छ ।
शक्तिको दुरूपयोग गर्ने होलिका मारिएको भन्दै होलिकादहन अर्थात् चीरदाह गरेर आपसमा रङ, अबीर लगाएर खुसीयाली मनाएर होली खेल्ने परम्पराको सुरुवात भएको मानिन्छ ।
केही वर्षदेखि रंगको पर्व होली सभ्य बन्दै गएको छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द भएको छ । प्रहरीले होलीलाई सभ्य तरिकाले मनाउन आग्रह गरेको छ । होहल्ला नगरी, जाँडरक्सी तथा लागूपदार्थ नखाई एक आपसमा रमाएर होली मनाउन प्रहरीले अनुरोध छ ।
यस्तै होली मनाउँदा आफ्नो स्वास्थ्य, सम्भावित दुर्घटना र सामाजिक मर्यादाबारे पनि ख्याल गर्न विज्ञहरूले सुझाव दिएका छन् । रङले कतिपयको छाला, फोक्सो तथा आँखामा एलर्जी गर्ने भएकाले यसतर्फ सचेत हुन डाक्टरको सुझाव छ । होली पर्वको अवसरमा आज हिमाली र पहाडी भेगमा सार्वजनिक बिदा छ ।
यसैबीच, होली पर्वका अवरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, सभामुख देवराज घिमिरे, प्रधानमन्त्री केपी शर्मा ओली र विभिन्न राजनीतिक दलका नेताहरूले शुभकामना सन्देश जारी गरेका छन् । होली पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने भएकाले यसलाई संयमित भएर मनाउन उनीहरूले आग्रह गरेका छन् ।
१. रामचन्द्र पौडेल, राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होली) पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् । होली पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उनले होली पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्न प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण नेपाली समाजलाई विविधता बीचको एकता कायम गर्न पर्वले मद्दत पुग्ने विश्वास व्यक्त गरे । ‘विविधता बीचको एकता नै हामी नेपालीको पहिचान र सुन्दरता पनि हो । यो पर्वले समस्त नेपालीहरूबीच रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउने विश्वास लिएको छु,’ शुभकामना सन्देशमा भनिएको छ ।
राष्ट्रपति पौडेलले होलीमा खेलिने विविध रङहरू जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण रहेको उल्लेख गर्दै यही विविधता बीचको एकता नै हामी नेपालीको पहिचान र सुन्दरता पनि भएको बताएका छन् । उनले नेपालीहरूको विशेष पर्व होलीको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।
२. रामसहाय प्रसाद यादव, उपराष्ट्रपति
उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक, सांस्कृतिक र राष्ट्रिय महत्व बोकेको फागुपूर्णिमा (होली) पर्वले सांस्कृतिक वैभव र धरोहरलाई समृद्ध बनाउन सघाउ पुर्याउने विश्वास व्यक्त गरेका छन् । फागुपूर्णिमा (होली) पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उनले यस पर्वले देश र समाजमा एकता तथा शान्ति कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरेका छन् । ‘फागु पर्वका अवसरमा तयार पारिने विशेष परिकार मालपुवा, दालपुरी, खिरलगायत मिठा–मिठा व्यञ्जन सामूहिक रूपमा ग्रहण गर्नु नेपाली संस्कृतिको अर्को कालजयी रीतिरिवाज हो, यसको संरक्षण र सम्वद्र्धन गर्न जरूरी छ,’ उपराष्ट्रपति यादवले भनेका छन् ।
आपसी कटुता, मतभेद, क्लेश, मनमुटाव र मनोमालिन्य बिर्सेर पारिवारिक, सामाजिक र समुदायगत सम्बन्धलाई नवीकरण गर्दै थप उचाइमा पुर्याउन होली एउटा उत्तम माध्यम भएको उनको भनाइ छ । उपराष्ट्रपति यादवले फागु पर्वले नयाँ पिँढीलाई नेपाली संस्कृति र परम्पराबारे जान्ने अवसर प्राप्त भई आफ्नो संस्कृतिप्रति गर्व र सम्मान गर्ने भावना विकसित गर्नमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
३. देवराज घिमिरे, सभामुख
सभामुख देवराज घिमिरेले फागुपूर्णिमा (होली) पर्व संस्कार, सभ्यता र आपसी प्रेमको चाड भएको उल्लेख गर्दै मर्यादित र सभ्य तरिकाले मनाउन अपिल गरेका छन् । स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिका लागि शुभकामना व्यक्त गर्दै उनले यस पर्वले समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्दै सबैमा प्रेम, शान्ति र भाइचारा अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका छन् ।
‘फागु पर्वले असत्यमाथि सत्यको विजयको सन्देश दिएको छ । धार्मिक रूपमा भक्त प्रह्लादको कथासँग जोडिएको यो पर्वले जीवनमा सकारात्मक सोच राख्न प्रेरणा दिन्छ । यो विभिन्न जातजाति, धर्म, क्षेत्रका मानिसहरूबीच मेलमिलाप र एकता बढाउने, नेपाली समाजको पहिचान झल्काउने पर्व हो, रङ, रमाइलो र उत्सवमय वातावरणले यस पर्वलाई अझ उल्लासमय बनाउँछ,’ सभामुख घिमिरेले भनेका छन् ।
उनले पछिल्लो समय फागु पूर्णिमा मनाउने तरिकामा केही विकृतिहरू देखिन थालेको उल्लेख गर्दै जबर्जस्ती रङ दल्ने, अभद्र व्यवहार गर्ने, मादक पदार्थको दुरूपयोग गर्ने जस्ता प्रवृत्तिले चाडको वास्तविक भावना धमिल्याइरहेको उल्लेख गरेका छन् । ‘नेपाल बहुजाति, बहुभाषी, बहुसांस्कृतिक, बहुधार्मिक, बहुभौगोलिक विशेषता भएको देश हो । नेपालमा अनेक जाति, भाषा, संस्कृति छन्, आ–आफ्नै मौलिक संस्कृति र चाडपर्व छन् । विविध चाडपर्व र संस्कृतिभित्र नेपाली एकता प्रतिविम्बित छ । नेपालका सबै चाडपर्वका विशेषता भनेको आपसी एकता, सद्भाव, सहकार्य कायम राख्नु रहेको छ,’ सभामुख घिमिरेद्वारा जारी सन्देशमा भनिएको छ ।
४. नारायण प्रसाद दाहाल, राष्ट्रिय सभा अध्यक्ष
राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले होली पर्वका अवसरमा हुने विकृतिलाई निरुत्साहित गर्दै सभ्य रूपमा होली मनाउन सबैमा आग्रह गरेका छन् । फागु पूर्णिमाका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले जथाभाबी लोला हान्ने, फोहर पानीको प्रयोग गर्ने, हूलहुज्जत गर्नेजस्ता विकृति पनि देखिन थालेकाले यसो नगर्न आग्रह गरेका छन् । ‘सद्भाव, भ्रातृत्व र विविध रङहरूको पर्व फागु पूर्णिमाका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । यस पर्वले हामी सबैलाई आपसी सद्भाव, भ्रातृत्व एवं विविध रङहरूको मिश्रणजस्तै एकताबद्ध भई अघि बढ्न प्रेरणा दिने मैले विश्वास लिएको छु,’ उनले भनेका छन् ।
‘पूर्वीय सभ्यता, दर्शन, चिन्तन परम्परा, मौलिक संस्कृति र विविध पर्वहरूका दृष्टिले हामी धेरै सम्पन्न छौँ, विविधतासहितको एकतामा आधारित हाम्रो समाज र संस्कृति संसारकै निम्ति अनुकरणीय र प्रेरणादायी छ । यसको जगेर्ना गर्दै बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विशेषतामा आधारित देश, समाज र संस्कृतिलाई थप समुन्नत बनाई राष्ट्रिय एकता र सद्भावलाई सुदृढ गर्नु हामी सबैको साझा दायित्व हो,’ उनले आफ्नो सन्देशमा भनेका छन् ।
५. केपी शर्मा ओली, प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीप्रति फागुपूर्णिमाको हार्दिक शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकबाट हर्ष र उमङ्गको यो पर्व वसन्तोत्सव र मदनोत्सवसमेत भएको उल्लेख गर्दै सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गरेका हुन् ।
फागुपूर्णिमालाई होली पर्वका रूपमा मनाउने गरिएको तथा वसन्त ऋतुको यो पूर्णिमालाई प्रकृतिको पुनर्जागरणको दिन मानिन्छ भन्दै शुभकामनामा प्रधानमन्त्री ओलीले शिशिरपछि आउने वसन्त ऋतुमा फूलहरू फुल्ने तथा चराहरूको चिरबिर आवाजले वातावरण रमाइलो बनाउने उल्लेख गरेका छन् । ‘फागुपूर्णिमालाई वसन्तोत्सव र मदनोत्सव पनि भनिन्छ । हाम्रो प्राचीन शास्त्र वेदमा चन्द्रमालाई मनका देवता भनिएको छ । मनमा हुने भावनात्मक उद्वेगले प्रकृति र पुरुष तत्व जागृत भएको र सृष्टि सहज भएको मानिन्छ– यस ऋतुमा सबै प्राणी र वनस्पति चञ्चल स्वभावमा हुने विश्वास गरिन्छ,’ उनले फेसबुकमा लेखेका छन्, ‘हर्ष र उमङ्गको क्रीडापर्व फागुपूर्णिमाको सबैलाई शुभकामना ! ह्याप्पी होली !’
६. विद्यादेवी भण्डारी, पूर्वराष्ट्रपति
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशविदेशमा रहेका नेपालीप्रति फागुपूर्णिमाको हार्दिक शुभकामना व्यक्त गरेकी छिन् । सामाजिक सञ्जाल एक्सबाट शुभकामना व्यक्त गर्दै उनले फागुपूर्णिमालगायत पर्वबाट आपसी सद्भाव र राष्ट्रिय प्रेमलाई अझ प्रगाढ बढाउने बताइन् । ‘वसन्त ऋतुको मौसममा मनाइने रङहरूको पर्व फागुपूर्णिमा (होली)को अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक मङ्गलय शुभकामना बच्चादेखि वृद्ध हरेक उमेर समूहले हर्षोल्लासका साथ मनाउने यो पर्वले सबैको जीवनमा आनन्द र खुसीको रङ भर्दै आपसी सद्भाव र राष्ट्रिय प्रेमलाई अझै प्रगाढ बनाउनेछ भन्ने मेरो विश्वास छ,’ एक्समा उनले लेखेकी छिन् ।
७. शेरबहादुर देउवा, कांग्रेस सभापति
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले फागु पर्व (होली) मा खेलिने विविध रङहरू जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपले विविधतापूर्ण रहेको बताएका छन् । फागु पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै उनले यस पर्वमा खेलिने विविध रङहरू जस्तै विविधता बीचको एकता नेपालीको विशिष्ट पहिचान बनेको बताएका छन् ।
नेपालको हिमाल, पहाड र तराईका जिल्लामा हर्षोल्लासका साथ एक अर्कालाई रङ लगाई खुसियाली साटासाट गर्दै खेलिने फागु पर्वका अवसरमा उनले सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन् । ‘फागु पर्व हाम्रो एक धार्मिक र सांस्कृतिक पर्व हो । अन्यायमाथि न्यायको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, पारस्परिक एकता र सामाजिक सद्भावका साथ मनाउँदै आएको छ । यस अवसरमा मेरो र पार्टीको तर्फबाट हार्दिक शुभकामना छ,’ सन्देशमा भनिएको छ ।
सभापति देउवाले वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आएको फागु पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै पारस्परिक एकता र सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्दै शुभकामना व्यक्त गरेका छन् ।
८. पुष्पकमल दाहाल ‘प्रचण्ड’, माओवादी अध्यक्ष
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुपूर्णिमा (होली पर्व) जस्ता चाडपर्वले समुदायबीच सद्भाव बढाउन सहयोग पुग्ने बताएका छन् । आज पहिलो दिन हिमाली र पहाडी क्षेत्र तथा भोलि दोस्रो दिन तराई–मधेसमा हर्षोल्लासका साथ मनाइने होली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै उनले होलीलगायत हाम्रा मौलिक पर्वले समुदायलाई एकताबद्ध गर्न सघाउने बताएका हुन् ।
शुभकामनामा अध्यक्ष दाहालले विभिन्न धर्म, भाषा र संस्कृति मान्ने समुदायहरूलाई आ–आफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरक्षण र सम्बर्धन एवम् फरक जाति र समुदायको संस्कृति र आत्मस्वाभिमानको सम्मान गर्न अभिप्रेरित गर्ने उल्लेख गरेका छन् । ‘रङ्हरूको पर्वका रूपमा स्थापित होली पर्व त्यस्तो पर्व हो, जसले सबै वर्ग, जाति, भाषा, भूगोल र संस्कृतिको भावना एवं सम्मिलनलाई प्रतिनिधित्व गर्दछ,’ अध्यक्ष दाहालले भनेका छन्, ‘अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रो साझा पहिचान हो, यहाँका प्रत्येक जातजाति र धर्मावलम्बीहरूका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक परम्परा र पर्वहरू छन् ।’
९. उपेन्द्र यादव, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले होली पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । ‘आपसी भाइचारा र सद्भावको रूपमा मनाइने हिन्दू धर्मावलम्बीहरूको महान् पर्व होलीको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोतर प्रगतिको कामना गर्दछौँ,’ शुभकामना सन्देशमा भनिएको छ ।
अध्यक्ष यादवले असत्यमाथि सत्य, हिंसामाथि सद्भाव र घृणामाथि प्रेमको विजयोत्सवको रूपमा मनाइने रङहरूको पर्व फागुपूर्णिमा हिमाल, पहाड र मधेसलाई एकताको सूत्रमा बाँधी आपसी भ्रातृत्व सद्भाव र सहिष्णुता कायम गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।
FACEBOOK COMMENTS