काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) ले एक दर्जनभन्दा धेरै उद्योग व्यवासयलाई सम्मान गरेको छ । महासङ्घले आज बिहीबार काठमाडौंमा आयोजित आफ्नो ५९औँ वार्षिक साधारण सभामा उक्त सम्मान प्रदान गरेको हो ।
महासङ्घले जिल्ला नगर उद्योग वाणिज्य सङ्घ समूह ‘क’ बाट उत्कृष्ट पाँचथर उद्योग वाणिज्य सङ्घ, समूह ‘ख’ बाट उत्कृष्ट पर्वत उद्योग वाणिज्य सङ्घ र समूह ‘ग’ बाट उत्कृष्ट चितवन उद्योग वाणिज्य सङ्घलाई सम्मान गरेको छ ।
साथै, संस्थागत सामाजिक उत्तरदायित्वमा उल्लेखनीय भूमिका निर्वाह गरेबापत सिन्धुली उद्योग वाणिज्य सङ्घलाई सम्मान गरिएकाे छ ।
यस्तै, वस्तुगत समूहबाट उत्कृष्ट नेपाल हस्तकला महासङ्घ, द्विराष्ट्रिय उद्योग वाणिज्य सङ्घबाट नेपाल–भारत उद्योग वाणिज्य सङ्घ सम्मानित भएका छन् ।
महासङ्घका प्रादेशिक शाखाहरूमध्ये उत्कृष्ट नेपाल उद्योग वाणिज्य महासङ्घ, कोशी प्रदेश सम्मानित भयो ।
यसैगरी, आर्थिक वर्ष २०७९/८० को आय विवरणअनुसार सबैभन्दा बढी आयकर दाखिला गर्ने महासङ्घका सदस्यहरू पनि सम्मानित भए । वस्तु निर्यातको कारोबार गर्नेमध्येबाट डाबर नेपाल प्रालि, बैंक तथा वित्तीय संस्था र बीमाको कारोबार गर्नेमध्येबाट नबिल बैंक लिमिटेड, पर्यटन व्यवसाय गर्नेमध्येबाट तारागाउँ रिजेन्सी होटेल लिमिटेडले यस्तो सम्मान पाएका हुन् ।
साथै, वस्तु व्यापारको कारोबार गर्नेमध्येबाट भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर प्रालि, ऊर्जामूलक उद्योगमध्येबाट भोटेकोशी पावर कम्पनी प्रालि, रेमिटेन्स तथा मनी ट्रान्सफरको कारोबार गर्नेमध्येबाट सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालि र विशेष उद्योगहरूमध्येबाट वरुण विभरेज नेपाल प्रालि पनि सो सम्मान पाउनेमा समावेश छन् ।
सो अवसरमा महासङ्घमा २५ वर्ष सेवा अवधि पूरा गरेका निर्देशक सूर्यराज पौडेल र उपनिर्देशक विदुरचन्द्र लामिछानेलाई पनि प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो ।
सम्मानितहरूलाई कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओली, एफएनसीसीआईका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायतले कदरपत्र प्रदान गरेका थिए ।
FACEBOOK COMMENTS