काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असीम शाहले वर्तमान सरकार ‘हात्ती आयो हात्ती आयो फुस्सा’ जस्तै भएको टिप्पणी गरेका छन् ।
अनुभवी दुई ठूला दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनेपछि देशमा उल्लेख्य सुधारको आशा गरिए पनि त्यस्तो हुन नसकेको उनले बताएका हुन् ।
प्रतिनिधिसभाको आज बिहीबारको बैठकमा उनले सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम ‘कर्मकाण्डी’ भएको बताए ।
‘हात्ती ठूलो जनावर भएका कारण हात्ती आउँदा के–के न होला भन्ने हुन्छ । तर, हात्ती नै आउँदा पनि केही नभएपछि मान्छेहरू भन्छन्– हात्ती आयो हात्ती आयो फुस्सा ! अहिलेको सरकार पनि हात्तीजस्तै लाग्न थालेको छ मलाई,’ उनले भने, ‘ठूला पार्टी मिलेर बनेको शक्तिशाली गठबन्धन, वर्षौँदेखि बजेट ल्याएका, सत्तामा रहेका, नीति कार्यक्रम ल्याएका, विज्ञ नेता–कार्यकर्ता भएका पार्टीले के–के न खतरा नीति कार्यक्रम ल्याउलान् भनेको, तर वास्तविकता फेरि पुरानै उस्तै ढर्रा, उस्तै भाषाशैली, उस्तै नियत झल्काउने दस्तावेज प्रकट भएको छ ।’
उनले स्थायित्वको नारा लगाइरहेको सरकारका प्रधानमन्त्री र गृहमन्त्रीले नै सरकार ढल्दैन भन्दै हिँड्नुपरेको उल्लेख गर्दै बजेटपछि सरकार के हुन्छ भनी प्रश्न गरे । सरकारलाई स्थायित्वतिर लाग्न सुझाव दिँदै उनले रास्वपा सरकारमा सहभागी हुने पक्षमा नरहेको स्पष्ट पारे ।
‘अहिले जसरी सरकार ढल्दैन भनेर प्रधानमन्त्री, गृहमन्त्रीले बोलिराख्नुपर्ने अवस्था छ र जसरी कमरेड प्रचण्डसँग सम्बन्ध सुमधुर बनाउनेतिर पनि लाग्नुभएको छ, अब बजेटपछि के हुन्छ यो सरकार ?,’ सांसद शाहले भने, ‘अघिल्लो पटक ‘सेबोन’ ले ढलाएको सरकार के अब गभर्नरको कुराले ढल्ला त ? फेरि टेको खोज्दै हिँड्नुपर्ने अवस्था आउँछ । तपाईंहरू ‘स्ट्रङ’ हुनुहोस् । स्थायित्वतिर लाग्नुहोला । हामी टेको दिने पक्षमा छैनौँ ।’
FACEBOOK COMMENTS