काठमाडौं । प्यालेस्टिनी लडाकु समूह ‘हमास’ ले अन्तिम ठानिएका अमेरिकी बन्धक रिहा गरेको छ ।
अक्टोबर २०२३ देखि गाजामा बन्धक बनेका इजरायली मूलका अमेरिकी नागरिक एडन अलेक्जेन्डर रिहा भएका हुन् ।
अलेक्जेन्डर १९ महिनासम्म गाजामा बन्धक बनेका थिए ।
७ अक्टोबर २०२३ मा हमासले इजरायलमा आक्रमण गर्दा २१ वर्षीय अलेक्जेन्डर गाजा सिमानामा एक विशेष सैन्य इकाइमा तैनात थिए ।
एडन अलेक्जेन्डरको जन्म इजरायलको तेल अभिभमा भएको थियो, तर उनी अमेरिकाको न्यू जर्सीमा हुर्केका हुन् ।
सोमबार इजरायली सेनाले उनको रिहाइका लागि गाजामा केही घण्टा सैन्य अभियान रोकेको थियो ।
हमासका एक वरिष्ठ अधिकारीले यो रिहाइ मध्यपूर्वमा मङ्गलबार हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमणअघि सम्भावित नयाँ युद्धविराम सम्झौताका लागि सन्देश दिने प्रयोजनार्थ भएको बताएका छन् ।
अलेक्जेन्डर हमासको कब्जामा रहेका अन्तिम जीवित अमेरिकी नागरिक रहेको अनुमान गरिएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले उनको रिहाइपछि परिवारलाई बधाई दिएका छन् ।
हमासले यसअघि अलेक्जेन्डरको रिहाइको उद्देश्य गाजा पट्टीमा मानवीय सहयोग पुग्ने बाटो खुल्ला गर्नु रहेको बताएको थियो ।
इजरायलले पछिल्ला ७० दिनदेखि गाजामा खाद्यान्न, औषधि र अन्य मानवीय सहयोगमा रोक लगाएको छ ।
सहयोगी संस्थाहरूले यसलाई ‘भोकमरीलाई हतियार बनाउने र युद्ध अपराध’ जस्तो भएको बताएका छन् ।
इजरायलले यस वर्षको मार्च मध्यदेखि गाजामा पुनः बमबारी र सैन्य अभियान तीव्र पारेको छ ।
FACEBOOK COMMENTS