काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद अनिशा नेपालीले पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहितका राष्ट्रवादी नेताहरूलाई बिनाशर्त रिहा गर्न माग गरेकी छिन् ।
प्रतिनिधि सभाको विशेष समयमा उनले गत चैत १५ गते तीनकुने घटनाका सन्दर्भमा पक्राउ परेका उपाध्यक्ष मिश्रसहितका नेताहरूलाई रिहा गर्न माग गरेकी हुन् । उनीहरूलाई संविधानको मर्मविपरीत पक्राउ गरिएको उनको भनाइ छ ।
‘संविधानमा लेख्ने तर यसलाई लागू गर्न गाह्रो मान्ने किन ?,’ उनले भनिन्, ‘संविधानको धारा १७ ‘क’ मा उल्लेख गरिएको छ, ‘विचार र अभिव्यक्तिको स्वतन्त्रता’ भनेर तर चैत १५ गते भएको तीनकुने घटनामा फरक विचारधारा भएकै कारण सरकारले थुन्ने काम गरेको छ यो निन्दनीय छ । पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायत राष्ट्रवादी साथीहरूलाई बिनाशर्त रिहाइ गरियोस् भनी माग गर्दछु ।’
यस्तै, उनले विद्यमान संविधान जनताको भावनाविपरीतको भएको र सङ्घीय प्रणाली म्याद गुज्रिएको औषधिजस्तो भइसकेको टिप्पणी गरेकी छिन् । ‘संविधानको बारेमा आम नागरिकको माझ व्यापक बहस र छलफल नगरी जनताको सार्वभौमिकतालाई नै लत्याउनेगरी २०६३ साल माघ १७ गते मध्येरातमा निर्णय गरियो । के त्यो ठिक थियो त ? त्यो समयमा मुलुकले अग्रगामी परिवर्तन खोजेको थियो, तर त्यसो हुन सकेन । अहिले सङ्घीय प्रणाली म्याद गुज्रिएको औषधिजस्तो हुँदै छ ।’
समस्या समाधान गर्ने नाममा एकात्मक राज्यलाई सङ्घात्मकमा लैजानु घातक रहेछ भन्ने कुरा प्रष्ट देखिएको र अब अभिभावकका रुपमा राजसंस्था आवश्यक भइसकेको चर्चा उनले गरिन् । ‘नेपालका आम जनताले खोजेको शासन स्वशासन हो, स्वायत्त होइन । राजसंस्था र हिन्दुराष्ट्र हुने कुरा संविधानविपरीत होइन । त्यसैले म भन्न चाहान्छु– सर्वधर्म, समभाव, धार्मिक स्वतन्त्रता, नेपाल र अभिभावकको रुपमा राजसंस्था कायम गरियोस् भन्ने माग गर्न चाहान्छु ।’
हेर्नुहोस् भिडिओ–
यो पनि पढ्नुहोस्–
‘लोकतन्त्रको आवरणमा नवसामन्तवाद र सर्वसत्तावाद हावी भयो, धर्म परिवर्तनको डढेलो सल्कियो’
FACEBOOK COMMENTS