काठमाडौं । ज्योति विकास बैंकले देशका ग्रामीण क्षेत्रहरूमा जीवनरक्षक चिकित्सा उपकरणहरूको महत्त्वलाई दृष्टिगत गरी बेबी वार्मर (न्यानो नानी) मेसिन प्रदान गरेको छ ।
बैंकले रोल्पाको माडी गाउँपालिका–२ स्थित घर्तीगाउँ हेल्थ पोस्टमा नवजात शिशुको शारीरिक तापक्रमलाई सन्तुलनमा राख्न र हाइपोथर्मिया (अल्पताप) को जोखिमबाट जोगाउन आवश्यक पर्ने सो उपकरण हस्तान्तरण गरेको हो । घर्तीगाउँका साथै स्याङ्जाको अर्जुनचौपारी र गुल्मीको पुर्तिघाटस्थित हेल्थ पोस्टमा पनि सो उपकरण प्रदान गरिएको बैंकले जानकारी दिएको छ ।
उक्त उपकरण हस्तान्तरणपछि त्यहाँका डाक्टर र नर्सलगायत सम्बन्धित कर्मचारीहरुलाई विज्ञमार्फत बेबी वार्मर सञ्चालनसम्बन्धी विशेष तालिम पनि प्रदान गरिएको बैंकले जनाएको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत यी तीनवटा बेबी वार्मरसहित हालसम्म देशभर ६२ वटा बेबी वार्मर मेसिनहरू प्रदान गरिसकेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यी उपकरणहरूमार्फत हरेक वर्ष करिब दुई हजार २९४ भन्दा बढी नेपाली शिशुहरुलाई यो सुविधा उपलब्ध गराई अमूल्य जीवन रक्षा गर्न सफल भएको बताइएको छ ।
विशेष गरी ग्रामीण क्षेत्रमा हाइपोथर्मियाको दर उच्च रहेको र यसका कारण नवजात शिशुहरूको जीवन जोखिममा पर्ने गरेको दृष्टान्तलाई हृदयङ्गम गर्दै बैंकले उक्त मेसिन प्रदान गर्दै आएको छ । साथै हालसम्मको योगदानले करिब ११ हजार ४७० भन्दा बढी शिशुहरु प्रत्यक्ष रुपमा यस सेवाबाट लाभान्वित भएको बैंकको दाबी छ ।
ज्योति विकास बैंकले हाल १२१ वटा शाखा कार्यालय, तीनवटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
FACEBOOK COMMENTS