काठमाडौं । ई–कमर्स कम्पनी अमेजनका संस्थापक तथा अर्बपति व्यवसायी जेफ बेजोस यसै हप्ता लोरेज सान्चेजसँग विवाह बन्धनमा बाँधिँदै छन् ।
यद्यपि, उनको जीवनको यो विशेष दिन विवादमा परेको छ । बेजोसले इटलीको भेनिसमा भव्य रूपमा विवाह गर्न लागेका छन्, तर भेनिसका सामाजिक संस्थाका मानिसहरूले यसको विरोध गरिरहेका छन् । प्रदर्शनकारीहरूले यो विश्वमा बढ्दो असमानताको प्रमाण भएको र सहरमा बस्ने मानिसहरूलाई भव्य विवाहका लागि बेवास्ता गरिएको बताएका छन् ।
प्रदर्शनकारीहरूले भेनिस सहरका विभिन्न स्थानमा जेफ बेजोसको विवाहको विरोध गरिरहेका छन् । यस क्रममा प्रदर्शनकारीहरूले ‘बेजोसको लागि कुनै ठाउँ छैन’ लेखिएका ब्यानरहरू फहराएका छन् । भेनिसको सेन्ट स्क्वायरमा पनि बेजोसको विरोध भएको छ ।
अहिलेसम्म, ती विरोधहरूमा जेफ बेजोसबाट कुनै प्रतिक्रिया आएको छैन । प्रदर्शनकारीहरूले विवाहको दिन पनि ठूलो विरोधको योजना बनाइरहेका छन् र उनीहरूले विवाहका पाहुनाहरूसँग डुङ्गाहरू चल्ने नहरहरू अवरुद्ध गर्ने योजना बनाएको मिडिया रिपोर्टमा उल्लेख छ । विरोधको उद्देश्य प्रदर्शनकारीहरूलाई विवाहस्थलमा पुग्नबाट रोक्नु भएको बताइएको छ तर प्रदर्शनकारीले शान्तिपूर्ण प्रदर्शन हुने बताएका छन् ।
धेरै प्रसिद्ध व्यक्तिहरू जेफ बेजोसको विवाहमा उपस्थित हुने बताइएको छ, जसमा मिक जागर, इभान्का ट्रम्प, ओप्रा विन्फ्रे, केटी पेरी र लियोनार्डो डिक्याप्रियो जस्ता हाइप्रोफाइल सेलिब्रेटी छन् । इटलियन सहर भेनिस यसको सुन्दरताको कारण विवाहका लागि मनपर्ने ठाउँमा पर्दछ र यहाँ हरेक वर्ष सयौँ हाइप्रोफाइल विवाह हुने गर्दछन् ।
बेजोसको विरोधमा लागेका प्रदर्शनकारीहरूले बेजोस हलिउड स्टार होइनन्, उनी एक अर्बपति भएको, डोनाल्ड ट्रम्पको नजिक भएको, ट्रम्पलाई फेरि राष्ट्रपति बन्न मद्दत गरेको, बेजोसको कम्पनीमा श्रमसम्बन्धी प्रक्रियाहरूमा प्रश्न उठाइएको, बेजोसको कम्पनीको युरोपेली देशहरूसँग करको सम्बन्धमा पनि विवाद रहेको जस्ता विषय उठाएका छन् ।
भेनिसका मानिसहरूले विवाहको विरोध गर्दै शहरमा पहिले नै धेरै प्रशासनिक समस्याहरू छन् र शाही विवाहपछि यी अझ बढ्ने बताएका छन् । अर्कोतर्फ, भेनिसका मेयर लुइगी बग्र्नारोले भने भेनिसमा एक अर्बपतिको विवाह हुनु गर्वको कुरा भएको बताएका छन् ।
मिडिया रिपोर्टका अनुसार बेजोसको विवाहका लागि भेनिसका विलासी होटेलहरूमा सयौँ कोठाहरू विवाहका लागि बुक गरिएको छ र सहरका गोन्डोला र पानी ट्याक्सीहरू पनि बुक गरिएको छ ।
बेजोसले २०१९ मा आफ्नो २६ बर्षको वैवाहिक सम्बन्ध टुङ्ग्याउँदै स्कट मेकेन्जीसँग डिभोर्स गरेका थिए । बेजोज र मेकेन्जीका तीन छोरा र एक छोरी छन् । बेजोसले डिभोर्सपछि लोरेज सान्चेजसँग २०२३ मा इन्गेजमेन्ट गरेका थिए । ५५ वर्षीय सान्चेज अमेरिकी पत्रकार र लेखिका हुन् । उनको यस अघि व्यवसायी पाट्रीक व्हाइटसेलसँग २००५ मा विवाह भएको थियो भने दुवैले २०१९ मा डिभोर्स गरेका थिए । दुवैका तीन छोराछोरी छन् ।
FACEBOOK COMMENTS