काठमाडौं– अन्तराष्ट्रिय बजारमा चिनीको मूल्यमा भारी गिरावट आएपनि नेपालीहरूले भने ५८ रूपैयाँको चिनी अव ९० रूपैयाँ तिर्नुपर्ने भएको छ ।
भारत, पाकिस्तान र बंगलादेशबाट आयात हुने सस्तो चिनीका कारण नेपालका चिनी उद्योगहरू प्रतिस्पर्धा गर्न नसकी धरासायी भएको भन्दै ५८ रूपैयाँको चिनीलाई ९० रूपैयाँ कायम गर्न लागिएको हो । विदेशबाट आउने चिनी रोकेर चिनीको अस्वभाविक मूल्यवृद्धि गरिएको हो । यसमा अर्थसचिवको चलेखेल रहेको बुझिएको छ । नेपाली चिनी उद्योगीसँग साँठगाँठ गरेर उनले यस्तो निर्णय गर्न लगाएका हुन् ।
नेपालका चिनी उद्योगहरूको लागत बढी भएकाले विदेशी चिनीसँग प्रतिस्पर्धा गर्न नसकेको भन्दै आयात रोक्न लागिएको हो । आयात रोक्नेबित्तिकै मूल्य आकासिने निश्चित छ । अधिकांश चिनी उद्योगीले भारतबाट ल्याइएको चिनी प्याकेजिङ गरेर बेच्ने गरेको आरोप लागिरहेका बेला चिनी महंग्याउने षड्यन्त्र रचिएको हो । बिस्कुट, चक्लेट उद्योगदेखि पौने ३ करोडको घरघरमा पाक्ने चियालगायतका उपभोग्य सामग्रीमा चिनीको प्रयोग हुन्छ ।
चिनी उद्योगीहरूले एक लाख उखु किसानलाई देखाउँदै तीन करोड नेपालीको भान्सा महंग्याउने षड्यन्त्र गरेको भन्दै विरोध भइरहेको छ ।
किसानको नाममा लबिङ गरेको बताउने तिनै चिनी उद्योगले सरकारबाट भ्याट फिर्ता(रिफन्ड) समेत लिएर उखु किसानलाई भने अघिल्लो वर्षको ६ अर्ब भुक्तानी समेत दिएका छैनन् । यसरी चिनीको बहानामा राज्य र उपभोक्ताबाट केही व्यक्तिहरू ब्रह्मलुट मच्चाउन लागेको देखिन्छ ।
सरकारले हरेक वर्ष उखुको मूल्य तोके पनि त्यसैबाट उत्पादन हुने चिनीको मूल्य भने तोक्ने गरेको छैन । उद्योग, बाणिज्य र आपूर्ति मन्त्रालय र कृषि विकास मन्त्रालयले विज्ञहरूको समिति नै बनाएर चिनीको मूल्य तोक्नुपर्नेमा अहिलेसम्म नतोक्नुले पनि यसमा चलखेल रहेको प्रस्ट हुन्छ । किनभने यसरी चिनीको मूल्य तोक्दा लागतलाई मध्यनजर गरिन्छ । लागत भन्दा धेरै मूल्य लिइरहेका उद्योगहरूले त्यसो गराएर आफ्नै खुट्टामा बञ्चरो हान्न चाहदैनन् ।
चिनी उद्योगीले भारतबाट अवैधरुपमा भित्राई चिनी भण्डारण गरि राख्ने गरेको चर्चा बेला बेलामा हुने गरेकै छ । अहिले चिनी उद्योगीले सरकारी कर्मचारीको मिलेमत्तोमा पहिला भारतबाट अबैधरुपमा सस्तोमा भित्राएको र अब चिनी आयत रोकी त्यसलाई महंगोमा बेच्ने चलखेल शुरु भएपछि विवाद निस्किएको हो ।
देखाउँदा नेपाली किसानको लागि भने पनि अबैधरुपमा सस्तोमा भित्राएको चिनी बेच्नको लागि यो प्रपन्च रचिएको हो । होईन भने सरकारले अब कहिल्लै विदेशबाट चिनी आयात नगर्ने स्पष्टकानुन ल्याउन जरुरी छ ।
FACEBOOK COMMENTS