काठमाडौं । नाडा अटोमोबाइल एसोसिएशन अफ नेपाल (नाडा) को टोलीले यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेसँग भेट गरेको छ ।
नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले महानिर्देशक पोखरेलसँग अटोमोबाइल क्षेत्रका विभिन्न विषयहरूमा छलफल गरेको हो ।
त्यसक्रममा अध्यक्ष चौधरीले विभागले सवारीसाधन आयात, उत्पादन तथा जडानसम्बन्धी निर्देशिका–२०८२ का सन्दर्भमा गरिरहेको तयारीका सम्बन्धमा जिज्ञासा राख्दै यस सम्बन्धमा विभागले गरिरहेको अध्ययन र तयारीको प्रशंसा गरे । अध्यक्ष चौधरीले उक्त प्रस्तावित निर्देशिकामा भएका बुँदाहरूबारे नाडा र विभागबीच विस्तृत छलफल गरी अघि बढ्नुपर्ने धारणा राखे ।
छलफलमा सहभागी नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले प्रस्तावित निर्देशिकामा उल्लेखित केही बुँदाहरूको विषयमा थप छलफल गरिनुपर्ने आवश्यकता रहेको बताउँदै उल्लेखित बुँदाहरूका सम्बन्धमा सिलसिलेवार छलफल गरी सो निर्देशिकालाई यथार्थ र व्यावहारिक बनाउनुपर्ने आवश्यकता रहेको बताए ।
त्यस्तै, नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले सरकारले गलत कार्य गर्नेहरूलाई दण्डित गर्नुपर्ने र सही कार्य गर्नेहरूलाई पुरस्कृत गर्नुपर्ने धारणा राखे । उनले नेपालमै ब्याट्री उद्योगहरूको स्थापना भइसकेको जानकारी दिए ।
छलफलमा विभागका प्राविधिक निर्देशक श्रीकान्त यादवले प्रस्तावित निर्देशिका तयार पार्न संयुक्त राष्ट्र र युरोपेली युनियनले के–कस्तो व्यवस्था गरेको छ भन्नेबारेमा समेत अध्ययन गरिएको बताए ।
छलफलको अन्तमा महानिर्देशक पोखरेलले यस विषयमा नाडाजस्तो मुख्य सरोकारवालाहरूसँग थप छलफल गरेर नीतिगत स्पष्टता ल्याइने बताए । नेपालमा अहिलेसम्म सवारीसाधन आयातसम्बन्धी कुनै स्पष्ट नियम नभएकाले त्यसलाई व्यवस्थित बनाउन निर्देशिकाको तयारी भइरहेको बताए । सोही क्रममा महानिर्देशक पोखरेलले यस विषयमा नाडासँग सहकार्य गरेर अघि बढ्ने बताए ।
FACEBOOK COMMENTS