काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुराना ठूला दलहरूले देशका संरचनात्मक समस्याहरू समाधान गर्न नसक्ने कुरा व्यवहारमै प्रमाणित भएको बताएका छन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत विचार व्यक्त गर्दै डा. भट्टराईले संसदका दुई ठूला दल मिलेर बनेको सरकारले एक वर्षमा पुराना दलहरूबाट जतिपटक जोसुकैले सरकार चलाए पनि मुलुकका गम्भीर समस्याहरू हल हुन नसक्ने कुरा आम नागरिकले प्रष्टसँग बुझ्ने अवसर पाएको उल्लेख गरेका छन् ।
उनले हालको सरकारको सबैभन्दा ठूलो उपलब्धि नै यही भएको टिप्पणी गर्दै भने ‘संस्थागत भ्रष्टाचार, बेरोजगारी, अल्पविकास, परनिर्भरता, पर्यावरण विनाश जस्ता संरचनात्मक समस्याहरू यी दलहरूबाट समाधान हुन सक्दैन भन्ने कुरा जनताले व्यवहारमै देखेका छन्।’
डा. भट्टराईले तेस्रो ठूलो दलका नेतृत्वकर्ताले समेत पटक–पटक सरकारको नेतृत्व गर्दा पनि समस्याहरू समाधान नभएको स्मरण गराउँदै अब मुलुकको राजनीतिक दायित्व नयाँ र वैकल्पिक शक्तिको हातमा आउने दाबी गरेका छन्।
उनले थप भने, ‘अब नेपाली इतिहासको कोर्टको बल नयाँ र वैकल्पिक शक्तिहरूको हातमा ढिलोछिटो आउने निश्चितै छ। प्रश्न भनेको के हो भने तिनले त्यसको गम्भीर तयारी कसरी गर्छन् वा गर्नुपर्छ ? आगामी दिनको राजनीतिक विमर्श त्यतै मोडिनुपर्छ।’
पूर्वप्रधानमन्त्री भट्टराईले सबैलाई आ–आफ्नो छातीमा हात राखेर गम्भीर आत्ममूल्याङ्कन गर्न समेत आग्रह गरेका छन्।
FACEBOOK COMMENTS