नेपाल प्रहरीको क्रुर दमन हेर्दा “प्रहरी मेरो साथी” भन्ने नारा अब उपहास मात्र हैन, जनताको घाउमा नुन छर्किने चुट्किला जस्तो लाग्छ। साथी त दुःखमा साथ दिने हुन्छ, तर यहाँ प्रहरी आफ्नै सन्तानलाई गोली र लाठीले थिच्दै, जनताको रगतमा आफ्नो दाम चुकाइरहेको छ।
“जनताको सेवक” भनेर चिनिने प्रहरी वास्तवमा भष्ट र निरङ्कुश नेताहरूको घरपालुवा नोकरमा परिणत भइसकेको छ। आदेश मिल्यो भने आफ्नै छिमेकीलाई हान्छ, आफ्नै गाउँका किशोरलाई तान्छ, आफ्नै समाजलाई आँसु ग्यास र बन्दुकले थिच्छ। यस्तो सेवकलाई के जनताको भन्न सकिन्छ? यो त जनताको ढाड चढेर नेताको कुर्सी जोगाउने दलाल हो।
इतिहास फर्केर हेर्दा २०४६ र २०६२÷६३ मा पनि प्रहरीको दमन थियो, तर त्यतिबेलाको क्रुरता आजको जस्तो निर्दय, घमण्डी र आतङ्ककारी थिएन। अहिले प्रहरी जनताको विरोध दबाउने साधन होइन, मानौँ जनता नै शत्रु हुन् भन्ने मनोविज्ञानमा परिचालित छ।
राज्यले आफ्नै सन्तानमाथि गोली हान्दा औंला न काँप्ने, आँसु ग्यास फ्याँक्दा दया नजाग्ने, लाठी बजार्दा करुणा नदेखाउने—यस्तो प्रहरीलाई “जनताको साथी” होइन, “जनताको सताउने” र “जनताको हत्यारा” भन्नु नै न्याय हुन्छ।
लाठी बोकेर हिंडेको मान्छेले अनिवार्य हान्नै पर्छ भन्ने छैन। बन्दुक काँधमा भएकोले अनिवार्य गोली ठोक्नै पर्छ भन्ने छैन। प्रहरी त समाजकै हिस्सा हो, भोलि यही समाजमा बस्नुपर्छ, यही समाजले तिर्ने करबाट पालिनुपर्छ। तर आज देखिएको चरित्र जनताले अपाच्य पारेको छ ।
भन्ने गरिन्छ–पुलिस वाज पिपल सर्भेन्ट , प्रहरि जनताको नोकर हो । जनता भुलेका छैनन् भोलि जब न्यायको कठघरामा उभ्याइनेछ, प्रहरीलाई आफैले गरेका अपराधहरूको हिसाब दिनै पर्नेछ ।
FACEBOOK COMMENTS