काठमाडौं । राष्ट्रिय सहकारी बैंकको बागमती प्रदेश सञ्चालक पदका उम्मेदवार डा. परितोष पौडेलले सहकारी बैंकलाई अझ सुदृढ, पारदर्शी र सदस्यमैत्री बनाउने उद्देश्यसहित आफ्नो उम्मेदवारी अघि सारेका छन् ।
सहकारी अभियानमा तीन दशकभन्दा बढी समयदेखि सक्रिय रहँदै आएका उनले आफ्नो अनुभव नै आगामी नेतृत्वका लागि मुख्य आधार हुने बताएका छन् ।
प्रारम्भिक सहकारी संस्थादेखि राष्ट्रिय स्तरका संस्थासम्म विभिन्न जिम्मेवारीमा काम गर्दै आएका पौडेल अहिले सहकारीकर्मीहरूको साझा उम्मेदवारका रूपमा चुनावी प्रतिस्पर्धामा छन् । उनले सहकारी क्षेत्रको वित्तीय व्यवस्थापन, संस्थागत विकास र सदस्य सेवामा सुधार ल्याउनु आफ्नो प्रमुख प्राथमिकता रहेको स्पष्ट पारे ।
उनका अनुसार सहकारी बैंकको नेतृत्व चयनमा अनुभव, वित्तीय बुझाइ र संस्थाप्रतिको प्रतिबद्धता सबैभन्दा महत्वपूर्ण हुन्छ । “सहकारी बैंक सदस्यहरूको साझा संस्था हो, यसलाई अझ प्रभावकारी र विश्वासिलो बनाउन सक्षम नेतृत्व आवश्यक छ,” उनले भने ।
पौडेलले निर्वाचनलाई सकारात्मक प्रतिस्पर्धा र विचार प्रस्तुत गर्ने अवसरका रूपमा लिनुपर्नेमा जोड दिएका छन् । उनले सहकारी अभियानलाई व्यक्तिगत आरोप–प्रत्यारोपभन्दा माथि उठाएर संस्थागत विकासतर्फ केन्द्रित गर्नुपर्ने बताए ।

सामाजिक सञ्जालमा उठाइएका केही विषयबारे स्पष्ट पार्दै उनले आफूलाई जोडेर फैलाइएका आरोपहरू वास्तविकतासँग मेल नखाने दाबी गरे । साथै उनले सहकारी अभियानको संस्थागत सुधार र दीर्घकालीन विकासमा आफ्नो योगदान निरन्तर रहेको बताए ।

उनका अनुसार आफ्नो कार्यकालमा नेफ्स्कुनको संस्थागत विकासमा महत्वपूर्ण प्रगति भएको र आज संस्था आफ्नै भवनबाट सञ्चालन हुनु सहकारी आन्दोलनकै महत्वपूर्ण उपलब्धि हो ।

आगामी जेठ ९ गते हुने निर्वाचन नजिकिँदै गर्दा उनले सबै प्रतिनिधिहरूलाई विवेकपूर्ण निर्णय गर्न आग्रह गरेका छन् । सहकारी बैंकलाई अझ सबल, पारदर्शी र सदस्यकेन्द्रित बनाउन आफू निरन्तर प्रतिबद्ध रहने उनको भनाइ छ ।