काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको उपाध्यक्षमा उज्वल जंग पराक्रम शाह निर्वाचित भएका छन् ।
शनिबार सम्पन्न संघको पाँचौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनबाट शाह उपाध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
अधिवेशनबाट शाहसँगै दुर्गाराज श्रेष्ठ र राजेन्द्र शेरचन पनि निर्विरोध निर्वाचित भएका छन् । यसैगरी संघको अध्यक्षमा रमानाथ श्रेष्ठ निर्विरोध चयन भएका छन् । नयाँ नेतृत्व चयनसँगै काठमाडौंका व्यवसायीहरूबीच संघप्रति थप अपेक्षा बढेको छ ।
उपाध्यक्ष पदमा निर्वाचित भएपछि शाहले साना तथा मझौला व्यवसायीको हकहितका लागि प्रभावकारी रूपमा आवाज उठाउने प्रतिबद्धता जनाएका छन् । उनले व्यवसायीहरूले भोगिरहेका कर, प्रशासनिक झन्झट, लगानी असुरक्षा तथा बजार व्यवस्थापनसँग सम्बन्धित समस्यालाई सम्बन्धित निकायसम्म सशक्त रूपमा पुर्याउने बताएका छन् ।
निर्वाचनपछि सञ्चारकर्मीसँग कुरा गर्दै शाहले काठमाडौं जिल्लाभित्र रहेका साना तथा मझौला व्यवसायी अहिले विभिन्न चुनौतीसँग संघर्ष गरिरहेको उल्लेख गर्दै ती व्यवसायीको आवाजलाई संघमार्फत प्रभावकारी रूपमा उठाउने आफ्नो पहिलो प्राथमिकता रहने बताए ।

उनले निजी क्षेत्र र सरकारबीच विश्वासको वातावरण निर्माण गर्न आवश्यक रहेको पनि बताए । व्यवसायीलाई केवल कर तिर्ने माध्यमका रूपमा नभई देशको अर्थतन्त्र चलाउने साझेदारका रूपमा हेर्नुपर्ने धारणा राख्दै शाहले उद्यमशीलता र लगानीको वातावरण सुधार भए मात्रै आर्थिक गतिविधि चलायमान हुने उल्लेख गरे ।

शाहले संघलाई व्यवसायीको साझा प्लेटफर्मका रूपमा अझ सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले युवा उद्यमी, स्टार्टअप व्यवसाय तथा नयाँ लगानीकर्तालाई प्रोत्साहन गर्ने वातावरण निर्माणमा आफूले सक्रिय भूमिका खेल्ने बताएका छन् ।

नयाँ नेतृत्व चयनसँगै संघले काठमाडौंका व्यवसायीका समस्या समाधान, निजी क्षेत्रको मनोबल वृद्धि तथा आर्थिक गतिविधिलाई चलायमान बनाउन सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ ।