काठमाडौं । फ्रान्समा आयोजना भएको विश्वप्रसिद्ध कान्स चलचित्र महोत्सवमा नेपाली नेवारी पोशाकमा देखिएकी काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल केही दिनयता निकै चर्चामा रहेकी छिन् ।
नेपाली मौलिक पहिरनमा सजिएर अन्तर्राष्ट्रिय मञ्चमा सहभागी भएकी डंगोलको प्रस्तुतिले सामाजिक सञ्जालमा व्यापक चर्चा पाइरहेको हो । विशेषगरी नेवारी सांस्कृतिक पोशाकमा उनको उपस्थितिलाई धेरैले नेपाली संस्कृति र पहिचानको सशक्त प्रतिनिधित्वका रूपमा ब्याख्या गरेका छन् ।
युवा पुस्ताले उनको कामको खुलेर प्रशंसा गर्दै नेपाली मौलिकता विश्वसामु चिनाउन सफल भएको प्रतिक्रिया दिएका छन् ।
उनी जेठ ३ गते उक्त महोत्सवमा सहभागी हुन फ्रान्स प्रस्थान गरेकी थिइन् । चार दिनसम्म महोत्सवको अनुभव सँगाल्ने तथा अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रसँग सहकार्य विस्तार गर्ने उद्देश्यसहित उनी कान्स पुगेकी थिइन् ।
भ्रमणका क्रममा उनले कान्स चलचित्र महोत्सवका प्रमुख व्यक्तित्वलाई काठमाडौं भ्रमणको निम्तोसमेत दिएको महानगरपालिकाले जनाएको छ । मे १२ देखि सुरू भएको महोत्सव मे २३ मा सम्पन्न भएको थियो ।

काठमाडौं महानगरपालिकाले निकट भविष्यमा आयोजना गर्न लागेको काठमाडौं चलचित्र महोत्सवको औपचारिक घोषणा तथा अन्तर्राष्ट्रिय प्रवर्द्धन गर्ने उद्देश्यले डंगोल त्यसतर्फ गएको बताइएको छ । छोटो समयमै निर्णय गरेर भ्रमण तय गरिएको महानगरपालिकाको भनाइ छ ।


जानुअघि कार्यपालिका बैठकमा भ्रमणबारे जानकारी दिँदै डंगोलले काठमाडौं चलचित्र महोत्सवलाई विश्वव्यापी रूपमा प्रचारप्रसार गर्नु नै आफ्नो मुख्य उद्देश्य रहेको बताएकी थिइन् ।
महानगरपालिकाले चलचित्र महोत्सवको पूर्वतयारीस्वरूप स्थानीयस्तरमा विभिन्न सिर्जनात्मक कार्यक्रम सञ्चालन गर्ने तयारी समेत अघि बढाएको छ । टोल टोलमा चलचित्र महोत्सव कार्यक्रममार्फत समुदायस्तरमा चलचित्र, संगीत तथा सिर्जनात्मक उद्योगसँग सम्बन्धित विषयमा छलफल गरिने महानगरपालिकाले जनाएको छ । यसले आगामी काठमाडौं चलचित्र महोत्सवका लागि सकारात्मक वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ ।
संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठनले काठमाडौंलाई चलचित्र सहरको रूपमा घोषणा गरिसकेको सन्दर्भमा महानगरपालिकाले चलचित्र तथा सिर्जनात्मक उद्योगलाई प्राथमिकतामा राखेर कार्यक्रम अगाडि बढाइरहेको छ ।
महानगरपालिकाले यस्ता अन्तर्राष्ट्रिय सहभागिताले काठमाडौंलाई विश्व चलचित्र मानचित्रमा थप परिचित गराउन मद्दत पुग्ने विश्वास गरेको छ । यसअघि तत्कालीन महानगर प्रमुख बालेन शाह पनि कान्स चलचित्र महोत्सवमा सहभागी भएका थिए ।