काठमाडौं । काठमाडौं उपत्यकामा ८ देखि १० घन्टासम्म भारी वर्षा हुने सम्भावना मौसमविदहरूले औंल्याएका छन् ।
बंगालको खाडीबाट भारत हुँदै नेपाल प्रवेश गरेको मौसमी प्रणालीका कारण काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा अत्यधिक वर्षा हुन सक्ने सम्भावना मौसमविदहरूले औंल्याएका हुन् ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागका सह–प्राध्यापक विनोद पोखरेलले शुक्रबार दिउँसोबाट दिनभरि हल्कादेखि मध्यम वर्षा हुने र शनिबार दिउँसोबाट भारीदेखि अतिभारी वर्षा हुन सक्ने बताएका छन् ।
बागमती, मधेस र कोशी प्रदेशका धेरै स्थान वर्षाबाट प्रभावित हुने तथा लुम्बिनी र गण्डकीका केही स्थानमा पनि अति भारी वर्षा हुन सक्ने उनले उल्लेख गरेका छन् ।
’बागमती र मधेसका केही स्थानमा ३०० मिलिमिटरभन्दा बढी पानी पर्न सक्छ,’ उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।
उनले शनिबार राति सचेत रहन सुझाव दिँदै सकेसम्म शनिबार र आइतबार यात्रा नगर्न भनेका छन् ।
उनले सामाजिक सञ्जाल ’एक्स’ (ट्विटर) मा लेखेका छन्, ’पानी त आज दिउँसोबाट सुरू हुन्छ तर आज दिनभरि हल्कादेखि मध्यम वर्षा मात्र छ।
भारीदेखि अति भारी वर्षा भोलि दिउँसोबाट सुरू हुने र भोलि राति भने सचेत हुनुपर्ने छ । सकेसम्म भोलि दिउँसोदेखि आइतबारसम्म यात्रा नगर्न सुझाव छ ।
FACEBOOK COMMENTS