काठमाडौं । नेकपा (एमाले)का पोलिटव्युरो सदस्य एवम् पूर्वमन्त्री आनन्द प्रसाद पोखरेलले व्यापार, शिक्षा, स्वास्थ्य, पर्यटन र साझा मानवीय मूल्यहरूको माध्यमबाट एसिया क्षेत्रलाई सम्पन्न, शान्त र एकताबद्ध बनाउन सकिने बताएका छन् ।
माल्दिभ्सको मालेमा आयोजित ‘दोस्रो मानव समरसता सम्मेलन तथा पुरस्कार समारोह’लाई शनिबार सम्बोधन गर्दै उनले यो अभियानले व्यापार, शिक्षा, स्वास्थ्य, पर्यटन र साझा मानवीय मूल्यहरूको माध्यमबाट यस क्षेत्रका देशहरूलाई जोड्ने उनले बताएका हुन् ।
पूर्व मन्त्री पोखरेलले विश्व तीव्र गतिमा परिवर्तन भइरहेको र नयाँ प्रविधि, विश्वव्यापी चुनौती र पारस्परिक निर्भरता बढ्दो क्रममा रहेको बताउँदै यस्तो समयमा यो अभियान दिगो विकासको आधार भएको धारणा व्यक्त गरेको उनको सचिवालयले जनाएको छ ।
‘नेपाल हिमालयको देश र शान्तिका दूत भगवान बुद्धको जन्मभूमि हो, हामी सधैं शान्ति, सहिष्णुता र सहकार्यमा विश्वास गर्छौ । समरसता सांस्कृतिक र आध्यात्मिक पहिचान यस क्षेत्रको अभिन्न अङ्ग भएकाले सहअस्तित्वको भावना प्रत्येक एसियाली राष्ट्रले महसुस गर्न सक्छन्,’ नेता पोखरेलले भने ।
उनले सहकार्यको संस्कृतिले व्यापार, सम्पर्क र सांस्कृतिक आदानप्रदानमार्फत समृद्धि आउने धारणा व्यक्त गर्दै सबैले राजनीतिक विभाजनभन्दा माथि उठ्नुपर्ने र जनतालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । शान्ति र समझदारीका लागि प्रतिबद्ध व्यक्ति, संस्था र सरकारहरूलाई जोड्ने स्थायी मञ्चका रूपमा मानव सञ्जाल स्थापना गर्नुपर्नेमा उनको जोड थियो ।
युवालाई सशक्त बनाई शिक्षा, सांस्कृतिक आदानप्रदान र स्वयंसेवा कार्यक्रममार्फत सहिष्णुता र सम्मानका मूल्यहरू जगाउनेपर्ने उहाँको धारणा थियो । पूर्वमन्त्री पोखरेलले नेपालको तर्फबाट ती लक्ष्यहरू प्रतिको दृढ प्रतिबद्धता व्यक्त गर्दै सबैसँग मित्रता, इमानदारी र साझा उद्देश्यका साथ काम गर्न तयार रहेको बताएका थिए ।
FACEBOOK COMMENTS