काठमाडौं । प्यालेस्टिनी कट्टरपन्थी समूह हमासले बन्धक बनाउँदा मारिएका नेपाली युवा विपीन जोशीको शव आज नै उनको गृह जिल्ला कञ्चनपुर लगिने भएको छ ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार, आज अपराह्न ४ बजेपछि विपीनको शवलाई सेनाको विमान (स्काई ट्रक) मा राखी धनगढी विमानस्थलसम्म लगिनेछ ।
“धनगढी विमानस्थलबाट नेपाली सेनाको सुदूरपश्चिम पृतनाले विपीनको शव उनको कञ्चनपुरस्थित घरसम्म पुर्याउने छ,” नेपाली सेनाका प्रवक्ता बस्नेतले भने ।
इजरायलबाट विपीनको शव आज दिउँसो २ बजेतिर काठमाडौं पुर्याइँदै छ । त्यसपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै उनलाई श्रद्धाञ्जली दिने कार्यक्रम राखिएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले दिउँसो साढे २ बजे विमानस्थल पुगी विपीनलाई श्रद्धाञ्जली दिने कार्यक्रम छ । विमानस्थलमा श्रद्धाञ्जली कार्यक्रम सकिएपछि विपीनको शवलाई सेनाको स्काई ट्रकमा राखी धनगढी लगिनेछ ।
सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा विपीनसहित २५१ जनालाई बन्धक बनाई लगेका थिए । केही दिनअघि हमास र इजरायलबीच युद्ध विराम भएपछि हमासले विपीनको मृत्यु भइसकेको घोषणा गरेको थियो ।
त्यसपछि हमासले रेडक्रसमार्फत विपीनको शव इजरायली सेनालाई सुम्पिएको थियो । इजरायली सेनाले शवको डीएनए परीक्षण गर्दा शव विपीनको नै रहेको पुष्टि भएपछि इजरायल सरकारले शव नेपाल पठाएको हो ।
FACEBOOK COMMENTS