काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नीसमेत रहेकी केन्द्रीय सदस्य आरजु राणा देउवा थप उपचारका लागि सिंगापुर जाने तयारीमा छन्।
जेनजी पुस्ताको आन्दोलनका क्रममा भदौ २४ गते निवास बूढानीलकण्ठमा सभापति देउवा र तत्कालीन परराष्ट्र मन्त्री आरजु राणा देउवामाथि आक्रमण भएको थियो।
सभापति देउवाको गर्धन र टाउकोमा चोट लागेको थियो भने तत्कालीन परराष्ट्र मन्त्री राणालाई पनि प्रदर्शनकारीहरूले लछारपछार गरेका थिए।
त्यस दिन नेपाली सेनाले उद्धार गरेर सभापति देउवा दम्पतीको उपचार गरेको थियो ।
सभापति देउवा थप उपचारका लागि सिंगापुर जाने तयारीमा रहेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

‘सभापतिज्यू थप उपचारका लागि सिंगापुर जाने तयारीमा हुनुहुन्छ, कहिले जाने निश्चित भइसकेको छैन,’ मुख्यसचिव पौडेलले भने ।

सभापति देउवा एक, दुई दिनमा सिंगापुर जाने तयारीमा रहेको उनीनिकट नेताहरूले बताएका छन् ।

सभापति देउवाको सचिवालयले भने यसबारे केही जानकारी दिएको छैन ।

असोज २८ गते सानेपास्थित केन्द्रीय कार्यालयमा उपस्थित भएर केन्द्रीय समिति बैठकमा धारणा राख्दै सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेका थिए ।

भदौ २४ गते जेनजी आन्दोलनका क्रममा घरभित्रै छिरेर प्रदर्शनकारीहरूले सभापति देउवा दम्पतीमाथि आक्रमण गरी घाइते बनाएका थिए भने घरसमेत आगजनी गरेका थिए ।
FACEBOOK COMMENTS