काठमाडौं । कार्यकारी निर्देशकको पद नपाएपछि राजीनामा दिएर अमेरिका हानिएका डा. रामेश कोइराला फेरि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा फर्किएका छन् ।
गत साउन २८ गते सामाजिक सञ्जाल एक्स (ट्विटर) मार्फत भावुक शैलीमा राजीनामा सार्वजनिक गर्दै विदेश बसाइको सङ्केत गरेका उनी राजीनामा स्वीकृतिको समयसीमा नसकिँदै सेवामा पुन: फर्किएका हुन् ।
केन्द्रमा कार्डियोभास्कुलर विभागका तत्कालीन प्रमुखसमेत रहेका वरिष्ठ कार्डियाक सर्जन कोइरालाले पारिवारिक कारण देखाउँदै दुई महिनाको नोटिस अवधि राखेर राजीनामा दिएका थिए । तर, उनी अचानक फर्किएपछि अस्पतालमा फेरि राजनीतिक वातावरण तातेको छ । केही दिनयता केही राहत महशुस भइरहेको अस्पतालका चिकित्सकहरू रामेश फर्किएसँगै फेरि तनावमा परेको बताइन्छ ।
अमेरिकाबाटै पठाएको भनिएको राजीनामा पत्रमा उनले असोज ३० गतेदेखि लागू हुनेगरी पद त्याग गरेको उल्लेख गरेका थिए । पत्रमा उनले लेखेका थिए, ‘म विदेशमा भएकाले कात्तिक ८ गतेअघि उपस्थित हुन सक्दिनँ, त्यसैले सोही मितिदेखि लागू हुने गरी राजीनामा स्वीकृत गरिदिनुहोस् ।’
यसै पत्रका अंशहरू एक्समा सार्वजनिक गर्दै उनले ‘घर चलाउन पर्यो भने रिक्सा चलाउन पनि तयार छु’ भन्ने भावुक टिप्पणी गरेका थिए, जसले धेरैलाई छोयो । तर, उनका यस्ता अभिव्यक्तिमा राजनीतिक सङ्केत, व्यक्तिगत तनाव वा संस्थाभित्रको असन्तुष्टिको आभाष देखिएको धेरैको टिप्पणी छ ।

उनको विदेश पलायनप्रति राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, नेता रवीन्द्र मिश्र, पूर्व मुख्यसचिव विमल कोइराला तथा हास्यकलाकार मनोज गजुरेललगायतले सार्वजनिक टिप्पणी गर्दै चिन्ता व्यक्त गरेका थिए । तर, उनको त्यो नाटक मात्रै भएको उनकै गतिविधिहरूले पुष्टि गर्दै गएको छ ।

लामो समयसीमा राखेर राजीनामा दिनु, विदेशबाट अकस्मात राजीनामा घोषणा गर्नु र राजीनामा स्वीकृत नहुँदै काममा फर्किएको सन्देश दिनुलगायत उनका गतिविधिमाथि थुप्रै शङ्काको सुविधा देखिन्छ ।

त्यसो त राजनीतिक घनिष्ठता भएका चिकित्सकका रूपमा उनले आफूलाई चिनाउँदै लगेका छन् । त्यसैले गंगालालमा उच्च पद प्राप्ति गर्नु उनको उद्देश्य र प्राथमिकता रहँदै आएको स्पष्ट छ । तर, अहिले भने उनका नजिकको वृत्तले ‘अब रामेशले अस्पतालभित्र राजनीति नगरे हुन्छ’ भन्ने सुझाव दिन थालेका छन् ।