काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ८९औं वार्षिकोत्सव समारोह भव्यताका साथ सम्पन्न गरेको छ ।
वि.सं. १९९४ कार्तिक ३० गते स्थापना भएको नेपाल बैंक २०८२ कार्तिक ३० गते आफ्नो ८८ औं वर्ष पूरा गरी ८९औं वर्षमा प्रवेश गरेको हो । सो अवसरमा प्रधान कार्यालयको प्राङ्गणमा आयोजित वार्षिकोत्सव समारोहको अध्यक्षता बैंकका सञ्चालक समितिका अध्यक्ष प्रा.डा. डिल्लीराज शर्माले गरेका थिए ।
नेपालभर २३१ शाखा, २३७ एटीएम साथै ६१ वटा एक्टेन्सन काउन्टरको सञ्जालमार्फत करिब २७ लाख ग्राहकहरूलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिंङ प्रविधि मार्फत बैकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि रूपमा अगाडि बढिरहेको छ । करिव १० लाख ग्राहकहरूले डिजिटल प्रविधि मार्फत् बैंकिंङ सेवा लिई लाभान्वित भएका छन् । विगत केही वर्षयता बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्ति मार्फत नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
उक्त वार्षिकोत्सव कार्यक्रममा २५ वर्ष अटुट सेवा गर्ने ३ जना, २० बर्ष सेवा गर्ने ५३ जना कर्मचारीहरूलाई पदक तथा प्रशंसापत्र प्रदान गरिएको थियो । त्यसैगरी, सुरक्षास्थितिको प्रतिकूल अवस्थामा पनि बैंकको सुरक्षा मजबुत गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने गौरादह शाखा र नयाँ बानेश्वर शाखाका सुरक्षकहरूलाई पुरस्कृत गरिएको थियो । उक्त कार्यक्रममा प्रादेशिक तथा भौगोलिक वर्गगत रूपमा उत्कृष्ट उपलब्धि हासिल गरेका १२ शाखालाई समेत पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा बैंकका अध्यक्ष प्रा.डा. शर्माले कर्मचारीहरूलाई आगामी दिनमा अझ सशक्त रूपमा अघि बढ्न, सबैले आ–आफ्ना अधिकार क्षेत्रभित्र रहेर उच्च मनोबल तथा इमान्दारीका साथ कार्यक्षेत्रमा लाग्न आग्रह गर्दै बैंक व्यवस्थापनलाई सञ्चालक समितिको सदैव साथ रहने विश्वास दिलाए ।

FACEBOOK COMMENTS