काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गतको महिला चेम्बरले काठमाडौंको जमलस्थित चेम्बर भवनमा आज स्टार्टअप उद्यमशीलता अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानसँगको सहकार्यमा महिला चेम्बरले गरेको स्टार्टअपप उद्यमशीलता कार्यक्रमबाट एक सयभन्दा बढी नवप्रवर्द्धनहरू लाभान्ति भएका छन् ।
सरकारले सुरू गरेको स्टार्टअप कर्जा लिन चाहनेका लागि कर्जा प्रक्रिया, उद्योगको प्रकृति लगायतका विषयमा नवप्रवर्द्धनहरूलाई अभिमुखीकरण दिइएको थियो ।
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले आह्वान गरेको स्टार्टअप कर्जाको प्रस्तावका लागि मंसिर ९ गतेसम्मको समय तोकिएको छ । चेम्बर भवनमा आयोजित कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश गुप्ताले स्टार्टअप कर्जा प्रस्ताव, कर्जा पाउने प्रक्रिया, कर्जा उपलव्ध गराइने क्षेत्र लगायतका विषयमा नवप्रवर्द्धनहरूलाई जानकारी दिएका थिए ।

अभिमुखीकरण कार्यक्रमलाई सम्बोध गर्दै चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले स्टार्टअप कर्जालाई सातै प्रदेशमा विस्तार गरेर उद्यमशीलताको विकास गर्नुपर्नेमा जोड दिए । आगामी आर्थिक वर्षको बजेटमा वृद्धि गरेर स्टार्टअप कर्जालाई देशव्यापी रूपमा विस्तार गर्नुपर्ने उनको भनाइ छ ।

स्टार्टअप कर्जा लिएर उद्यमशीलता गरेका नवप्रर्वद्धनहरूको सफल कथाहरूलाई बाहिर ल्याउनुपर्ने एवम् उनीहरूको उत्पादन र बजारीकरणका लागि सहयोग हुनुपर्ने अध्यक्ष अग्रवालले बताए ।
स्टार्टअप कर्जासम्बन्धी थप अध्ययन अनुसन्धानमा चेम्बरले सहयोग गर्ने अध्यक्ष अग्रवालले बताए ।

महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले स्टार्टअप कर्जाको सदुपयोग गरी उद्यमशीलता विकास गर्नुपर्नेमा जोड दिइन् । महिला उद्यमशीलतासम्बन्धी अभिमुखीकरण कार्यक्रमलाई चेम्बरले निरन्तरता दिने उनको भनाइ छ ।

FACEBOOK COMMENTS