काठमाडौं । भारतमा टेलिफोन जडानको कुल संख्या १२३ करोड नाघेको छ । पछिल्लो रिपोर्ट अनुसार १२३ करोड मध्ये ११८.४ करोड मोबाइल प्रयोगकर्ता छन् भने ४ करोड ६० लाख वायरलाइन ग्राहकहरू रहेका छन् ।
भारतमा रिलायन्स जियो सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी रहेको छ । रिपोर्ट अनुसार, जियोका हाल ४८.४७ करोड प्रयोगकर्ता रहेका छन् । जियोले फोरजी र फाइभ जी सेवाहरूको द्रुत रूपमा विस्तार गरिरहेको छ भने पहुँच र ग्रामीण क्षेत्रमा सुधारिएको नेटवर्क कभरेजले जियोको ग्राहक आधार लगातार बढिरहेको छ ।
त्यस्तै अर्को टेलिकम कम्पनि एयरटेलका हाल ३९ करोड ३६ लाख प्रयोगकर्ता रहेका छन् । एयरटेलको निरन्तर बढ्दो प्रिमियम प्रयोगकर्ता आधारले यसलाई देशको दोस्रो ठूलो टेलिकम कम्पनी बनाएको छ ।
त्यस्तै सरकारी स्वामित्वमा रहेको टेलिकम कम्पनी बीएसएनएलका हालसम्म ९ करोड २५ लाख प्रयोगकर्ता पुगेका छन् ।
त्यस्तै भोडाफोन–आइडिया (वी) ले बढ्दो कठिनाइहरूको सामना गरिरहेको छ । कम्पनीका हाल २० करोड प्रयोगकर्ता रहेका छन् । कमजोर नेटवर्क लगानी र ग्राहकहरूलाई कायम राख्न असफलता वी को लागि प्रमुख चुनौती बनेको बताइएको छ ।
भारतमा मोबाइल जस्तै ब्रोडब्यान्ड खण्ड द्रुत गतिमा बढिरहेको छ । अक्टोबरको रिपोर्टका अनुसार ब्रोडब्यान्ड प्रयोगकर्ताहरूको कुल संख्या ९९ करोड ९८ लाख पुगेका छन्, जुन सेप्टेम्बरमा ९९ करोड ५६ लाख थियो । एकै महिनामा ४२ लाख नयाँ प्रयोगकर्ताहरू थपिएसँगै, भारत अब १ अर्ब ब्रोडब्यान्ड जडानको ऐतिहासिक कोशेढुङ्गा पुग्ने बाटोमा पुग्न लागेको छ ।

FACEBOOK COMMENTS